आयोवा ककसको परिणाम घोषणामा ढिलाइ : स्याण्डर्सलाई रोक्न त हैन ?

प्रदीप भट्टराई

डिमोइन्स, आयोवा

आयोवा डेमोक्रेटिक ककसको परिणाम सार्वजनिक गर्न ढिलाइ भएकोमा विरोध सुरू भएको छ। 'क्वालिटी कन्ट्रोल'का नाममा गरिएको यो ढिलाइलाई लिएर अनेक कोणबाट प्रश्नहरू उठाइएका छन्।

केहीले डेमोक्रेटिक संस्थापन पक्षले बर्नी स्याण्डर्सको सम्भावित विजयलाई रोक्न पर्दा पछाडि केही चाल त चलिरहेको छैन ? भन्नेसम्मका पनि प्रश्न उठाएका छन्।  

यसअघि सन् २०१६ मा यतिबेलासम्म ७० प्रतिशत परिणाम सार्वजनिक भैसकेको थियो । तर, यसपटक सुरू नै भएको छैन । 

आयोवा डेमोक्रेटिक पार्टी समितिले शीर्ष स्थामा रहेका बर्नी स्याण्डर्स र जो बाइडेनका चुनावी क्याम्पेनरलाई फोन गरेर छलफलका लागि बोलाइएको बताएका छन्। यसबाट ठूलै आपत आइलागेको हो कि जस्तो आशंका बढेको छ।

आखिर के भैरहेको छ ? उम्मेद्वारका सम्भावित विजय पार्टीस्थलमा समर्थकहरू पनि यो प्रश्न गर्न थालेका छन्। 

यसअघि अर्ली इन्ट्रान्स पोलमा सिनेटर बर्नी स्याण्डर्स अगाडि देखिएको समाचार सार्वजनिक भएको थियो।  उनलाई पूर्व उपराष्ट्रपति जो बाइडेन, मेयर पिट बुटजज र सिनेटर एलिजावेथ वारेनले पछ्याइरहेको भनिएको थियो ।  

यसबीच केहीले परिणाम टेबुलेसन गरिएको एप्स नै क्र्यास भएको हुन सक्ने पनि आशंका गरेका छन्। यस सम्भावनासँगै उनीहरूले त्यसो भएमा त्यो नियोजित हो वा संजोग ? त्यस बारेमा पनि प्रश्न उठाएका छन्। 

अझ अगाडि बढेर केहीले त डाटा ह्याकको आशंका पनि व्यक्त गरेका छन्। तर, यसको भने स्वतन्त्र पुष्टि भएको छैन।

तर, आयोवा डेमोक्रेटिक पार्टीले परिणाममा एकरूपता नआएको भने स्विकारेको छ। 

यसैबीच आयोवा डेमोक्रेटिक पार्टी समितिले शीर्ष स्थानमा रहेका बर्नी स्याण्डर्स र जो बाइडेनका चुनावी क्याम्पेनरलाई फोन गरेर छलफलका लागि बोलाइएको बताएका छन्। यसबाट ठूलै आपत आइलागेको हो कि जस्तो आशंका बढेको छ।

परिणाम आउन ढिला भए पनि शीर्ष पाँच स्थानमा रेहका स्याण्डर्स, बाइडेन, वारेन, बुटजज र क्लाउबाउचर आआफ्ना समर्थकलाई सम्बोधन गरेका छन्। 

आयोवा डेमोक्रेटिक पार्टीका एक अधिकारीले परिणाम मंगलबार कुनै पनि समय परिणाम सार्वजनिक हुने बताएर सोमबार परिणाम आउँने सम्भावना क्षीण रहेको संकेत गरेका छन्। 

उता, राष्ट्रपति ट्रम्पका क्याम्पेन म्यानेजरले भने आयोवा डेमोक्रेटिक ककसको परिणाम आउन ढिलाइ भएकोमा खिल्ली उडाउँदै एक वक्तव्य जारी गरेका छन्।

प्रकाशित मिति: : 2020-02-04 22:52:48

प्रतिकृया दिनुहोस्