नेपाल भ्रमण वर्षलाई घाटा लाग्यो : पर्यटनमन्त्री भट्टराई

संस्कृति,पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई घाटा लागेको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले चीनबाट फैलिएको  कोरोना भाइरसका कारण घाटा लागेको बताएका हुन्।

'भ्रमण वर्षलाई घाटा लाग्यो', उनले भने, 'चिनबाट जति पर्यटन निकाल्ने धोको थियो, त्यो अपुरो भयो।' घाटा परिपूर्ति गर्नका लागि वैकल्पिक बजार खोज्नुपर्ने बताउदैं उनले पर्यटन मार्केटको खोजी सुरु भएको जानकारी दिए।

नेपालमा कोरोना भाइरसको कुनै संक्रमित नरहेको भन्दै उनले भने, 'एयरपोर्टदेखि सबै ठाउँमा उच्च सतर्कता अपनाउनुपर्छ।' मुलुक चीनबाट फैलिएको कोरोना भाइरसबाट वन्चित रहेको कुरा सबैतिर फैलाउन उनले सांसदहरुलाई आग्रह गरे।

सरकारले भ्रमण वर्षको लागि साधनस्रोत र जनशक्ति बढाउने तयारी गरिरहेको पनि उनले जानकारी दिए। 'सरकारले भौतिक पूर्वाधार निर्माण, विमानस्थलको सुधार र सरसफाइमा पर्याप्त ध्यान दिइरहेको छ' उनले भने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय  विमानस्थल निर्धारित समयभन्दा पहिले नै निर्माण सम्पन्न हुने गरी तीव्र गतिका साथ काम भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-02-06 04:21:55

प्रतिकृया दिनुहोस्