न्युजिल्याण्डले एकदिवसीयमा अहिलेसम्मकै उच्च रन बनाएर भारतलाई हरायो

एजेन्सी

हेमिल्टन

न्युजिल्याण्डले तीन एकदिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा भारतलाई ४ विकेटले पराजित गरेको छ। बुधबार हेमिल्टनमा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको भारतले ४ विकेटको क्षतिमा ३ सय ४७ रनको विशाल स्कोर खडा गरेको थियो। 

प्रत्युत्तरमा किवीले ४८ दशमलव १ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो। न्युजिल्यान्डले एकदिवसीयमा अहिलेसम्म यति ठूलो लक्ष्य पछ्याएको थिएन। यस अघि सन् २००७ मा अस्ट्रेलियाविरूद्ध उसले ३ सय ४७ रन बनाएको थियो।

जितसँगै न्युजिल्याण्डले शृंखलामा १–० को अग्रता बनाएको छ। 

न्युजिल्याण्डले लगातार दोस्रो एकदिवसीयमा भारतलाई पराजित गरेको हो। गत वर्ष विश्व कपको सेमिफाइनलमा भारतलाई पराजित गरेयता दुई देशबीच पहिलो शृंखला भएको हो। 

दोस्रो खेल ८ फेब्रुअरीमा अकल्यान्डमा हुनेछ। भारतले यस अघि ५ टि–२० को शृंखला ५–० ले नै जितेको थियो। 

घरेलु किवी टोलीका लागि रोस टेलरले एक वर्षपछि सतक बनाए। उनले अविजित १ सय ९ रन बनाएका थिए। उनको करिअरको २१ औं सतक थियो। कप्तान टम लाथमले ४८ बलमा ६९ रन बनाए। हेनरी निकोल्सले ७८ तथा मार्टिन गुप्टिलले ३२ रन बनाएका थिए। 

भारतका लागि श्रेयस अय्यरले १ सय ३ र लोकेश राहुलले ८८ रनको इनिङ खेलेका थिए। कप्तान विराट कोहली ५१ र केदार जाधव भने २६ रनमा अविजित रहेका थिए। 

श्रेयसको करिअरको पहिलो सतक थियो। उनले १६ खेलपछि सतक बनाएका हुन्। उनले चौथो विकेटका लागि राहुलसँग मिलेर १ सय ३६ रनको साझेदारी गरेका थिए। राहुलले एकदिवसीयको ७ औं तथा कोहलीले ४४ औं अर्धसतक बनाए। 

एकदिवसीयमा डेब्यु गरेका पृथ्वी शाँले २० तथा मयंक अग्रवालले ३२ रन बनाएका थिए। दुबैले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए। 

रोहित शर्मा र शिखर धवन घाइते भएपछि भारतले यी दुईबाट ब्याटिङको शुभारम्भ गरेको थियो। 
 

प्रकाशित मिति: : 2020-02-06 11:18:29

प्रतिकृया दिनुहोस्