कुशल भन्छन्- 'कीर्तिमान बनाउँदैछु भन्ने थाहा थिएन, राम्रो खेल्ने सोच मात्र थियो'

दीप सुवेदी

काठमाडाैं

युवा अलराउन्डर कुशल मल्लले विश्वासका साथ खेलेका कारणले नै पहिलो खेलमा कीर्तिमान बनाउँन सफल भएको बताएका छन्।

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत काठमाडौंमा भएको दोस्रो खेलमा अमेरिकासँग डेब्यू गर्दै अर्धशतकीय इनिङ खेलेका मल्ल सर्वाधिक सानो उमेरमा अर्धशतक पूरा गर्ने विश्वकै पहिलो खेलाडी बने। उनले उनले १५ वर्ष तीनसय ४० दिनको उमेरमा यो कीर्तिमान बनाएका हुन् ।

उनले खेलपछि भने ‘पहिलो खेल थियो। म विश्वासका साथ क्रिजमा आएको थिएँ। म आफ्नो खेलमा भरोसा गर्ने भएकै कारण उत्कृष्ट खेल्न सकेँ।’

उनले आफूलाई आफैले विश्व कीर्तिमान बनाउँदैछु भन्ने कुरा समेत थाहा नभएको बताए। ‘मैले कीर्तिमान बनाउँदैछु भन्ने कुरा मलाई थाहा थिएन।’, उनले भने, ‘मेरो सोच राम्रो खेल्ने थियो, मैले खेलेँ।’

उनले क्रिजमा जाँदा आफू टिमको लागि रन बनाउनुपर्छ भन्ने सोचका साथ गएको बताए। ‘मेरो दिमाखमा केही त्यस्तो सोच थिएन। टिम नाजुक अवस्थामा थियो। राम्रो खेल्नुुपर्छ भन्ने मात्र लागेको थियो’, कुशलले भने।

कुशलले अमेरिकासँग ४९ बलमा ४ चौका र ३ छक्कासहित ५० रन बनाए। ५० रन बनाएर खेलिरहेका मल्लको विकेट ३५औं ओभरको दोस्रो बलमा करिमा गोरले लिए। उनले प्रहार गरेको बल एल्मोरे हट्चिनसनले समातेका थिए।

अर्धशतक हानेपछि किन ब्याट उठाउनुभएन भन्ने प्रश्नमा उनले भने ,‘अझै मैले खेल्न बाँकि थियो। मैले अर्धशतक पूरा गर्दा टिमको स्कोर जम्मा एक सय ३० रन मात्र थियो। त्यसैले ब्याट उठाइन्।’

स्मरण रहोस् कुशलले आउट हुनुपूर्व विनोद भण्डारीसँग मिलेर ८३ रनको साझेदारी पनि गरेका थिए।

यसअघि गत वर्ष रोहितकुमार पौडेलले यूएईसँग दोस्रो ओडीआईमा अर्धशतक प्रहार गर्दै सबैभन्दा कान्छो उमेरमा अर्धशतक पूरा गर्ने विश्व कीर्तिमान रचेका थिए। उनले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको कीर्तिमान भङ्ग गरेका थिए।

रोहितले उक्त खेलमा ५८ बलमा ५५ रन जोडेका थिए।  उक्त अर्धशतक प्रहार गरेको दिन रोहितको उमेर १६ वर्ष १ सय ४६ दिन रहेका थिए। 

यसअघि सचिनले टेस्टमा १६ वर्ष २ सय १३ दिन र अफ्रिदीले १६ वर्ष २ सय १७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए। आजको खेलमा कुशलले रोहितकै ठाँउमा टोलीमा मौका पाएका थिए।

जितलाई निरन्तरता दिनुपर्छ: कप्तान मल्ल

कप्तान ज्ञानेन्द्र मल्लले जितलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

‘ओडिआइमा पहिलो खेल जितेर सुरुआत गर्नु अझ राम्रो कुरा हो। तर, अब यसलाई निरन्तरता दिन आवश्यक छ। हामीलाई थाहा थियो, जित्न गाह्रो छ। तर, जुन किसिमले हाम्रो स्पिन अट्याकर करणले बलिङ गरिहेका थिए, त्यस हिसाबले हामी जित्न सक्छौं भन्ने आशा चाँहि बाँकि नै थियो,’उनले भने।

पहिलो खेलमा ओमानसँग १८ रनको साँघुरो नतिजामा हारेको नेपालको उही टोलीविरुद्ध भोलिका लागि विशेष योजना केही नभए पनि गल्ती नदोहोर्‌याउने कप्तान मल्ल बताउँछन्।

‘बरु अझ राम्रो कसरी गर्ने भन्ने हो। जस्तो ब्याटिङको विषयमा सचेत छौं,’उनी भन्छन्,‘मिडल ओभरमा हामीले ध्यान दिन सकिरहेका छैनौं। त्यसलाई राम्रो गर्न सक्यौं भने हाम्रो जुन किसिमको बलिङ छ,त्यसले पक्कै पनि राम्रो नतिजा ल्याउनेछ।’

हल्यान्डलाई आउट गर्ने कोशिस गरिरहेको थिएँः करण

अन्तिम विकेटको रूपमा बाँकि रहेका अमेरिकी खेलाडी इयान होल्यान्डले यसअघि ओमानविरुद्ध पनि अर्धशतक बनाएका थिए। आजको खेलमा पनि उनले टोलीका लागि ७५ रनको महत्त्वपूर्ण इनिङ खेले।

 उनले १ सय ११ बलमा ७ चौका प्रहार गरेका थिए। उनलाई ४०औं ओभरको चौथो बलमा करण केसीले विकेटकिपर विनोद भण्डारीमार्फत क्याच गराए। उनको विकेट पतनसँगै खेलमा नेपाल हावी भएको थियो। 

चार विकेट हात पारेका करण केसी प्लेयर अफ द म्याच भए । उनले नेपालको खातामा महत्वपूर्ण १२ रन पनि जोडेका थिए। 

‘जब म अन्तिममा बलिङ गर्न आएँ, होल्यान्डलाई आउट गर्ने कोशिस गरिरहेको थिएँ’ करण भन्छन्,‘मैले आफ्नो उत्कृष्ट दिएँ। विकेट बलिङका लागि राम्रो थियो। र, मैले मेरो काम गरेँ।’

उनले त्रिविको पिचका बारेमा जानकार भएकाले पनि आफूलाई फाइदा पुगेको बताए।
‘धेरै समय भइसक्यो यो पिचमा खेलेको, त्यसैले पिच कस्तो छ भन्ने थाहा छ।’उनले भने,‘आफ्नो ‘लाइन-एन्ड-लेन्थ’मा बलिङ गर्‌यो भने विकेट झर्छ भन्ने थाहा थियो, झर्यो पनि।’

याे पनि
‘डेब्यू’मै कुशल मल्लले बनाए विश्व कीर्तिमानी अर्धशतक

‘डेब्यू’मै कुशल चम्किएपछि नेपालसँग अमेरिका स्तब्ध

प्रकाशित मिति: : 2020-02-09 11:31:51

प्रतिकृया दिनुहोस्