ट्रम्पसँग भिडिरहेका छन्- दुई रिपब्लिकन उम्मेद्वार वेल्ड र वाल्स

वेल्ड र वाल्स कमजोर छन् तर मैदान खालि गरिसकेका छैनन्

प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकामा यही वर्षको नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावका लागि दुई ठूला पार्टी आआफ्नो राष्ट्रपति उम्मेद्वार तय गर्न ककस र प्राइमरीमा भिडेका छन्।  

पहिलो ककसका रूपमा आयोवा ककस सकिएको छ भने पहिलो प्राइमरीका रूपमा न्युह्याम्पसायर प्राइमरीमा मंगलबार मतदान हुँदैछ।

रिपब्लिकन पार्टीबाट दोस्रो कार्यकालका लागि वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प नै दोहोरिने कुरा निश्चित छ, त्यसैले रिपब्लिकन पार्टीका ककस र प्राइमरीका बारेमा अमेरिकी सञ्चार माध्यममा कुनै समाचार नै देखिदैन। सिनेटले औपचारिक रूपमा महाअभियोगबाट उन्मुक्ति दिएपछि उनी निर्विवाद रिपब्लिकन उम्मेद्वार भैसकेका छन्। 

धेरैलाई त यो पनि थाहा छैन कि उनी पनि उम्मेद्वारीका लागि ककस र प्राइमरी प्रतिस्पर्धा गरिरहेका छन्। तर, यो सत्य हो उनी पनि चुनाव लडिरहेका छन् । उनलाई अन्य दुई उम्मेद्वारले मैदान खालि गरिदिइसकेका छैनन्।

यसरी मैदान खालि नगरिदनेमा म्यासाचुसेट्सका पूर्व रिपब्लिकन गभर्नर बील वेल्ड र इलिनयोका पूर्व रिपब्लकन सांसद जो वाल्स रहेका छन्। बिल सन् १९९१ देखि १९९७ सम्म म्यासाचुसेट्सका गभर्नर थिए। सन् २०१६ मा रिपब्लिकन पार्टीबाट कुनै उम्मेदवारी नपाएपछि उनी लिबर्टियन पार्टीबाट उपराष्ट्रपतिका उम्मेद्वार थिए। 

धेरैलाई लाग्छ,  अमेरिकी राष्ट्रपति उम्मेद्वारीका लागि रिपब्लिकन पार्टीबाट ट्रम्प एक्ला उम्मेद्वार हुन्। तर, त्यस्तो हैन उनले अझै पनि दुई रिपब्लिकन वेल्ड र वाल्ससँग प्रतिस्पर्धा गरिरहनु परेको छ। उनीहरू कमजोर जरूर छन् तर मैदान भने अझै पनि खालि गरिसकेका छैनन्।

वाल्स सन् २०११ मा इलिनोयबाट सांसद निर्वाचित भएका थिए।उनले २०१३ सम्म एक कार्यकालको बाँकि समय क्यापिटल हिलमा बिताए। कन्जर्भेटिव रेडियो कार्यक्रम प्रस्तोता उनी उग्र रूढीवादी विचार राख्छन् र आफ्ना विवादास्पद वयानका कारण चर्चित छन्। 

तर, यी दुबैको नाम रिपब्लिकन प्राइमरीसँग जोडेर कतै पनि खासै पढ्न/देख्न पाइदैन।रिपब्लिकन पार्टी ट्रम्पमय भएको छ। उनका नाम मात्रका विरोधीहरूले केही सयका संख्यामा यिनीहरूलाई मतदान गर्छन्। त्यो मत पनि उनीहरूले क्याम्पेनका कारण पाएका हैनन्, ट्रम्पविरोधी मत मात्र हुन्। 

गत आइतबार भएको आयोवा रिपब्लिकन ककसमा डोनल्ड ट्रम्पले ३१ हजार चारसय ६६ मत पाउँदा वेल्डले चारसय २७ र वाल्सले तीनसय ४९ मत पाए। ट्रम्पले  डंका बजाएर उनीहरूलाई किनारा लगाए।

तर, यी दुबैले नमंगलबार हुने न्युह्याम्पसायर प्राइमरीका लागि नामांकन दर्ता गरेका छन्। उनीहरूले मैदान खालि नगरेकाले ट्रम्पले पनि उम्मेद्वारीका लागि चुनाव लडिरहनु परेकै छ। 

प्रकाशित मिति: : 2020-02-09 22:33:19

प्रतिकृया दिनुहोस्