कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदारको डेढ घण्टा प्रस्टिकरण, भने– मेरो केही संलग्नता छैन

बालुवाटार जग्गा प्रकरणमा भ्रष्टचारको मुद्दा परेका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले केन्द्रीय समिति बैठकमा डेढ घण्टा प्रस्टिकरण दिएका छन्।

सोमाबार पार्टी कार्यालय सानेपामा बैठकमा ललिता निवासको जग्गा सम्बन्धीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि दायर गरेको भ्रष्टाचार मुद्दाका विषयमा उनले बैठकमा डेढ घण्टा प्रस्टिकरण दिएका हुन्। 

उनले बालुवाटार जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनमै फाइल अघि बढाएको धारणा राखेका थिए। 

उनले बैठकमा भने, ‘ प्रधानमन्त्रीले लिखित निर्देशन दिएकाले मैले प्रधानमन्त्री निवास व्यवस्थित गर्न गुरुयोजना मन्त्रिपरिषदमा पठाएको हुँ। प्रधानमन्त्रीले  निर्देशन दिएपछि त्यसको गुरुयोजना बनाउन दायित्व मेरो मन्त्रालयको हो। त्यसपछि मैले मेरो मन्त्रालयको सचिव, अन्य मन्त्रालयका सचिवसँग समेत समन्वय गरी गुरुयोजना निर्माण गर्ने प्रक्रियामा अगाडि बढाएँ। त्यसबाहेक मेरो केही संलग्नता छैन।’

गच्छदारले सरकारको पुर्वाग्रहमा आयोगले आफुलाई नियोजितरुपमा फसाएको आरोप उनले लगाए। ‘तत्कालीन समयमा मन्त्रीकारुपमा गरेका निर्णयको फाइलसहित बैठकमा पुगेको हो। नक्कली मोही खडा गर्ने, यो गर्यो उ गर्यो भन्ने सबै कुरा गलत हो। मसँगै सबै डकुमेन्ट छ। यो प्रकरणमा मलाई मुद्दा लगाउन मिल्ने अवस्था नै छैन।’उनले भने।

सोमबारको बैठकमा कांग्रेसले अख्तियारको कदमविरुद्ध खेद प्रस्ताव पारित गरेको छ। ‘आयोगले नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ। यो कार्य राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ।’

यस्तै संसदको अवरोध खुलाउने वा जारी राख्ने भन्ने बारेको निर्णय गर्ने अधिकार संसदीय दललाई दिइएको पौडेलले बनाए। संसदीय दलको बैठक मंगलबार बस्नेछ। 

अख्तियारले गत बुधबार बालुवाटार जग्गा प्रकरणमा गच्छदार सहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। गच्छदार माथि राजनीति प्रतिशोध साँधिएको र तत्कालिन प्रधानमन्त्री, मुख्य सचिव लगायतलाई उन्मुक्ति दिइएको भन्दै कांग्रेसले सडक र सदनमा आन्दोलन गरिरहेको छ।
 

प्रकाशित मिति: : 2020-02-11 11:40:54

प्रतिकृया दिनुहोस्