भत्किएका सडकमा भ्रमण वर्ष

संजोग आचार्य

न्यूयोर्क

करिब चार वर्षपछि अमेरिकाबाट नेपाल घुम्न गएका अन्तरराष्ट्रिय माउण्टेन गाईड एवं प्रशिक्षण नवाङ निमा शेर्पालाई नेपालमा विकास निर्माणमा खासै परिवर्तन आएको जस्तो लागेन। विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरवार स्क्वायर क्षेत्र घुम्न जाँदा त अझ उनको मननै खल्लो भयो।

भत्किएको सडक, धूलो बाटोमा जनताले सरकारलाई पिच गर नत्र आन्दोलनमा जान्छौ भनेर लेखेको ब्यानर देखेर रुनै मन लागेछ। अझ त्यसमाथि भ्रमण वर्षको घोषणा भनिएको रैछ। शेर्पाले मन थाम्न सकेनन् र आफ्नो फेसबुक स्ट्याटनमा यो कुरा लेखिहाले–‘राजनीतिक परिवर्तन ब्यापक भएपनि पर्यटकीय संरचना र पूर्वाधार विकास प्रायः ठप्प नै रैछ।’

सरकारले नेपाल भ्रमण वर्ष २०२० को घोषणा त गर्यो। तर, पूर्वाधार विकासमा अझ ध्यान दिन नसकेको यसबाट स्पष्ट देखिन्छ। शेर्पा त एउटा पात्र मात्र हुन्। नेपाल घुम्न जाने जोकोही पर्यटकले अहिले कुनै नयाँ अनुभव गर्न सक्ने अवस्था छैन। बिनाशकारी भूकम्पपछि भत्किएका संरचनाको अझ पुनः निर्माण भइसकेको छैन। निजगढ विनमानस्थल एकादेशको कथा जस्तै भइसकेको छ।

त्रिभुवन विमानस्थलको वेथितिकाे त कुरै नगरुम। ठूला विकास निर्माण गर्न सरकारसँग बजेट छैन। एउटा सानो बाटो मर्मत गर्न पनि नसकेको अवस्थामा भ्रमण वर्ष घोषणा गरेर सरकारले के सन्देश दिन खोजेको आम जनतालाई बुझ्न सकस परेकाे छ।भ्रमण वर्षको नाममा करोडौ बजेट छुटाइएको छ। पर्यटन बोर्ड, पर्यटन विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई कामको अभावमा भइरहेकाे बेलमा भ्रमण वर्षको नाममा सचिवालय खोलिएको छ। सचिवालयको खर्च निकै ठूलो छ। सचिवालयले सदस्यसचिवदेखि कर्मचारीसम्मलाई तलब खुवाउनु पर्छ।

प्रचारप्रसारको नाममा अझ प्रशस्त बजेट छुट्याइएको छ। त्यो खर्च पूर्वाधार विकासमा लगाउन सक्यौं भने अझ सुनमा सुगन्ध हुन्थ्यो हाेला। कोरोना भाइरसले आक्रान्त छिमेकी देश चीनका पर्यटनको आगमन लगभग शून्य जस्तै छ। भ्रमण वर्षको करिब दुई महिना हुन लाग्दा पर्यटक आगमनमा खासै सुधार आउन सकेको छैन। अझ विश्व सम्पदा सूचीमा सूचीकृत गन्तव्यहरुको सरसफाई र मर्मतमा ध्यान जान सकेको छैन।
 
यही जनवरी २०२० को अगाडी हेर्ने हो भने सरकारलाई यो वर्ष २० लाख पर्यटक हैन दश लाख पुर्याउन पनि हम्मेहम्मे पर्ने देखिन्छ। आन्तरिक पर्यटन विकासमा ध्यान दिन सकिएको छैन। अन्तरराष्ट्रिय पर्यटन प्रबद्र्धनको नाममा पैसा सकिदैछ। नेपाल पर्यटन बोर्डबाट सन् २०२० मा उपलब्ध आँकडा हेर्ने हो भने नेपालमा जनवरी महिनामा ७९ हजार ६८६ संख्यामा पर्यटक घुम्न आएको देखिन्छ। सबैभन्दा बढी भारतबाट र त्यसपछि चीनबाट।

भारतबाट १८ हजार ८८२ र चीनबाट १३ हजार ३०३ पर्यटक घुम्न आए। कोरोना भाइरसको कारण फ्रेब्रुअरीमा यो संख्या अझ घट्ने देखिन्छ। बेलायत, अस्ट्रेलिया, यूरोप, अमेरिका, जापानका गुणस्तरीय पर्यटकलाई हामीले अझ भित्र्याउन सकेका छैनौं। अमेरिकाबाट मात्र ६ हजार ३८६ पर्यटक घुम्न आएका छन्। अहिलेको परिस्थितिमा २० लाख पर्यटक पुर्याउन सरकारलाई हम्मेहम्मे नै पर्छ।

भ्रमण वर्षको नाममा बजेट सभा, सेमिनार र विदेश भ्रमणमै सक्नुको विकल्प छैन। नत्र बजेट फेरि फ्रिज होला। त्यसकारण सरकारले अब पूर्वाधार विकास र आवश्यक तयारी गरेर मात्र भ्रमण वर्ष घोषणा गर्नु उपयुक्त होला। आज त ललितपुरमा मात्र ब्यानर टाँसे भोली देशभरीनै यस्तै व्यथितिको ब्यानर टाँसिन सक्छ।
 

प्रकाशित मिति: : 2020-02-13 08:49:15

प्रतिकृया दिनुहोस्