‘दुर्भाग्य भन्नुपर्छ, विकेट लिन सकिएन’ (भिडियोसहित)

दीप सुवेदी

काठमाडाैं

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय श‌ृङ्खलाको अन्तिम खेलमा नेपालविरुद्ध पहिलो ब्याटिङ गरेको अमेरिका विश्व कीर्तिमानी कम योगफलमा समेटियो। अमेरिकालाई जम्मा ३५ रनमा अलआउट गर्ने क्रममा नेपालले १२ ओभरमात्र बलिङ गर्नुपर्यो।

अमेरिकाविरुद्ध नेपालका सन्दीप लामिछाने र सुशान भारीले उत्कृष्ट बलिङ साझेदारी गरे। जसमा सन्दीपले ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिए भने सुशानले ३ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित ५ रन खर्चेर ४ विकेट लिए।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले ट्वान्टी-२० को प्रदर्शन हेरेर एक दिवसीयमा आशा गर्न नसकिने बताए। ‘क्रिकेट भनेकै अनुभवले खेल्ने हो। एकै दिनमा हुने कुरा होइन,’ सन्दीपले भने, ‘आज ट्वान्टी-२० खेलेर भोलि एक दिवसीयमा १० विकेट लिने कुरा हामी आशा गर्न सक्दैनौं। हामीले अहिलेसम्म जम्मा ९ एक दिवसीय मात्र खेल्यौं।’

उनले प्रत्येक खेल फरक हुने पनि बताए।  ‘प्रत्येक खेल फरक हुन्छ। दुर्भाग्य नै भन्नुपर्छ, ओमानसँगको पछिल्लो खेलमा विकेट लिन सकिएन। त्यस खेलमा जति अट्याकिङ बलिङ सायद कसैले गर्न सक्छ होला। खेलाडीको जीवनमा यस्तो हुन्छ र आलोचना पनि भैरहन्छ। त्यसैले म त्यसलाई प्रेरणाको रूपमा लिन्छु। र, यो आफूले कसरी लिने भन्ने कुरामा निर्भर हुन्छ।’

सन्दीपले नेपालको प्रदर्शनमा बधाईका हकदार आफूभन्दा पनि सहकर्मी स्पिनर सुशन भएको बताए। ‘यो श‌ृङ्खलामा मभन्दा पनि सुशान भारीलाई धेरै क्रेडिट दिनुपर्छ। सुशन मभन्दा बढी बधाईका हकदार छन्। उनले प्रतियोगिता अवधिभर नै निरन्तर राम्रो बलिङ गरे। एक तर्फबाट उनले र करण केसी दाईले राम्रो साथ दिएको कारण नै म सफल भएको हो,’ सन्दीपले भने। 

उनले सुशन आफूभन्दा उत्कृष्ट खेलाडी हुनसक्ने बताए। ‘सुशनले सिरिजका चारै खेलमा विकेट लिँदै कुल ११ विकेट हात पारेका छन्’, उनले भने,’ सुशनले यू १९ देखि नै राम्रो खेल्दै आएका छन्।’

प्रकाशित मिति: : 2020-02-13 20:01:44

प्रतिकृया दिनुहोस्