मैले नवराज लम्साललाई सोधेँ- दलितसँग छोरी जाँदा कस्तो लाग्यो?

अन्तर्जातीय विवाह रक्तमिश्रण हो, यसैबाट जातिवादको पर्खाल ढाल्न सकिन्छ

मैलेँ पढेको पहिलो प्रेम कथा थियो, एन्टोन चेखवको प्रेम कथा। यो कथा वियोगान्त  थियो। उसो त हरेक महान प्रेम कथा वियोगान्त नै हुन्छन्।

चेखवले कथामा भनेका छन्, प्रेम गर्नेले प्रेमको उच्चतम् बिन्दु के हो भनेर तर्क गर्नुपर्छ या तर्क नै गर्नु हुँदैन। मलाई प्रेममा तर्क नै गर्नु हुँदैन भन्ने कथन बढी कन्भिन्सिङ लाग्छ।

मेरो पत्रकारिताका प्रारम्भिक दिनमा मैले कितावभन्दा बढी मान्छे पढेँ। मान्छे पढ्नु किताब पढ्नु जस्तो सरल हुँदैन। मान्छे पढ्दा जीवन बुझ्न सकिन्छ। जीवनको बहुआयामिक पाटा बुझ्न सकिन्छ। जीवनको सौन्दर्य र विरोधाभास बुझ्न सकिन्छ।  मान्छे पढ्ने अनौठो शौखले धेरैलाई पढेँ र धेरै सिक्ने मौका पाएँ।

केही समय अगाडि अमेरिका आएकी मेरी बहिनीलाई भेट्न बोलाएँ। उनलाई बोलाउनुको एउटै कारण थियो- उनले हालै ई-विवाह गरेकी थिइन्। उनको विवाह प्रेम विवाह थियो। प्रेम विवाह त सबैले गर्छन्। तर, उनको विवाहको विशेषता जान्न उत्सुक थिएँ।

मेरो आग्रह सहजै स्वीकार्दै उनी मलाई भेट्न आइपुगिन्।

कफी पिउन हामी न्युयोर्कको ज्याक्सन हाइटस्थित एक रेस्टुरेन्ट गयौं।  बहिनीलाई विवाहको बधाई दिँदै सिधै प्रश्न गरेँ, ‘बहिनी दलितसँग विवाह कसरी हुन पुग्यो?

बहिनी केहीबेर मौन रहिन्। विस्तारै आफ्नो वास्तविकता बताउन थालिन्, ‘दाजु, हो म एक म ब्राह्मण परिवारमा जन्मिएकी छोरी हुँ। तर, मैले एक दलितसँग विवाह गर्ने निर्णय गरेँ। किनकि, हामी एक अर्कालाई प्रेम गर्थ्यौ। उनको जातसँग मलाई कुनै सरोकार थिएन। उनले विवाहको प्रस्ताव गरे, मैले सहर्ष स्वीकारेँ। तर, हाम्रो निर्णयमा परिवारले पनि साथ दियो,’ उनको बोलीमा कन्फिडेन्स थियो।

यसरी भिन्दै पृष्ठभूमिका परिवार एक हुने हो भने समाज बदलिन समय लाग्दैन। प्रमुख कुरा के भने जातीय विभेद दलितको मात्र समस्या होइन। यो सबै नेपालीको समस्या हो। जबसम्म कथित उपल्लो जाति यसको अन्त्यको लागि अगाडि आउँदैनन् तबसम्म परिवर्तन सम्भव छैन।’

मैले उनको आत्मविश्वासमा थप प्रोत्साहन दिँदै भने, ‘हेर बहिनी तिमी जस्तै सबै भाग्यमानी हुँदैनन्। अन्तरजातीय विवाह गरेका कयौं जोडीको घरबार बिग्रने मात्र होइन, ज्यानसमेत गुमेको घटना प्रशस्तै सुन्न पाइन्छन्।’

बेलाले सहमति जनाउँदै भनिन्, ‘दाइ अन्तर्जातीय विवाह सरल यात्रा होइन। मलाई यसबारे राम्ररी ज्ञान छ। तर, यो समाज रूपान्तरणको प्रभावकारी उपाय पनि त हो नि। अन्तर्जातीय विवाह भनेको रक्तमिश्रण हो। रक्तमिश्रणद्वारा नै जातिवादको पर्खाल ढाल्न सकिन्छ।’

बहिनीले एउटा गहकिलो शव्दावली प्रयोग गरिन्- रक्तमिश्रण।

कतिपय अन्तर्जातीय विवाह भन्ने शब्द सुन्ननै चाहदैनन्। रक्तमिश्रण टाढाको कुरो हो। भर्खरकी बहिनीबाट रक्तमिश्रणको कुरा सुन्दा म प्रभावित नभई रहन सकिनँ।

बहिनीले अगाडि भन्दै गइन्, ‘दाइ हामीले एक अर्कालाई मानवको रूपमा मात्र हेर्‍यौं। कुनै तर्क बितर्क गरेनौं’, मैले बहिनीलाई हेरि मात्र रहेँ।

अनायाशै मेरो हात फोनमा पुग्यो। मैले नेपालमा रहेका बहिनीका बुवा डाक्टर नवराज लम्साललाई फोन लगाए। मैले अभिवादन गरेँ। उहाँले पनि न्यानोपनसहित अभिवादन फर्काउनुभयो।बेला र म कफी पिइरहेको कुरा उहाँलाई जानकारी गराएँ।

डाक्टरसा’ब बहिनीको अन्तर्जातीय विवाहको कुरा सुनेपछि फोन नगरी रहन सकिनँ। 

‘डाक्टरसा’ब दलितलाई छोरी दिँदा कस्तो लाग्यो,’ भनेर प्रश्न गर्न नपाउँदै डाक्टर सा’बले भन्नुभो, ‘छोरीले मन पराएपछि मैले नाई भन्ने सवालै उठेन। बरू मलाई गर्व छ। मेरो छोरी त शोसल इन्जिनियर भएकी छन्। उनको कदमले दुई जोडी मात्र होइन, दुई परिवारलाई सँगै ल्याएको छ’, उहाँले अगाडि भन्नुभयो, ‘यसरी भिन्दै पृष्ठभूमिका परिवार एक हुने हो भने समाज बदलिन समय लाग्दैन। प्रमुख कुरा के भने जातीय विभेद दलितको मात्र समस्या होइन। यो सबै नेपालीको समस्या हो। जबसम्म कथित उपल्लो जाति यसको अन्त्यको लागि अगाडि आउँदैनन् तबसम्म परिवर्तन सम्भव छैन।’

उहाँले आफ्नो प्रतिनिधि पात्र भएको भन्दै देशलाई थुप्रै बेलाहरूको खाँचो रहेको बताउनुभयो। ‘प्रेमले हेर्ने आँखाहरूको खाँचो छ। त्यस्तो आँखा जसले जात देख्दैन,’  डाक्टर साहबको कुरा सुनेपछि उहाँप्रति असिम श्रद्धा जागेर आयो।

‘साधुवाद डाक्टर साहब’ भन्दै फोन राखेँ।

बहिनी बेला र उनका बुवाको सोच र मानसिकता मैले पढिसकेको थिएँ। बहिनीलाई धेरै प्रश्न गर्न मनासिव सम्झिनँ र सोधेँ बहिनी प्रेम के हो? बेलाले उल्टै मलाई प्रतिप्रश्न गरिन्, ‘दाइ प्रेमको परिभाषा कसैले दिन सकेको छ र? प्रेमलाई डिफाइन गर्न सकिन्छ र? प्रेम त अनुभूति हो। प्रेममा बाँच्नुपर्छ,’ कफी सिद्धिसकेको थियो। बहिनीको साहसिक कदमलाई सलाम गर्दै ‘सदैव खुशी रहनू’ भन्दै फेरि भेट्ने वाचासहित छुट्टिएँ।

यतिबेला बहिनी नेपाल फर्किसकेकी छन्। तर, फेरि आज प्रेम दिवसका दिन बहिनीले प्रेमका बारेमा व्यक्त गरेको विचार याद आइरहेकोछ- ‘प्रेमलाई अनुभूत गर्नुपर्छ। प्रेममा बाँच्नुपर्छ।’

आज प्रेम गर्नेहरूको दिन भएकाले बहिनी र ज्वाइँ सम्झदा मेरा आँखाबाट आँसु झरिरहे। मेरा आशुले आँखालाई सोधेनन्। जात, पात, धनी गरीब, गरिबी, अभाव, वेदना, यातना, बहिस्करणका बाबजुद एकअर्काप्रतिको समर्पण, भक्तिभाव र त्याग देखेपछि बुझ्ने बुझाउने र सोध्ने केही बाँकि थिएन। प्रेमको यस्तो अलौकिकस्वरूप अविस्मरणीय थियो।

यही हो, वास्तविक प्रेम दिवस। भ्यालेन्टाइन डे, जसले जसलाई प्रेमको अर्थ सम्झाएको थियो।

सबैको जीवन प्रेममय होस् मेरो शुभकामना।

प्रकाशित मिति: : 2020-02-15 12:37:06

प्रतिकृया दिनुहोस्