आर्मीलाई हराउँदै मछिन्द्रले उचाल्याे ए डिभिजन लिगको उपाधि

दीप सुवेदी

काठमाडाैं

मछिन्द्र क्लबले शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मछिन्द्रले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो। 

३३औं मिनेटमा रन्जित धिमालले फ्रिकिकमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए। उनको फ्रिकिक विकास तामाङलाई डिफ्लेक्ट हुँदै गोल भएको थियो। उक्त गाेल नै खेलकाे लागि निर्णायक भयाे।

तर बल बचाउने क्रममा गोलरक्षक बिकेश कुथु घाइते भएका थिए। उनी घाइते भएपछि खेल झन्डै १० मिनेट रोकिएको थियो। खेल्न नसक्ने भएपछि उनलाई सिधै अस्पताल लगिएको थियो।

यसअघि नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रिकिक आर्मीका गोलरक्षक बिकेश कुथुले सहजै बचाए। १३औं मिनेटमा कप्तान भरत खवासको कर्नरमा बिकास खवासको हेडर बाहिरियो। २०औं मिनेटमा सुमन अर्यालको क्रस पासमा जर्जप्रिन्स कार्कीको प्रहार फितलो बन्यो। २२औं मिनेटमा सन्तोष तामाङको फ्रिकिकमा कप्तान भरत खवासको हेडर डिफ्लेक्ट हुँदै बाहिरियो।

दोस्रो हाफमा मछिन्द्रले अग्रता दोब्बर पार्ने मौका गुमायो। ६१ औं मिनेटमा मछिन्द्रका देवेन्द्र तामाङले पेनाल्टी बक्स भित्र बाट हानेको बल आर्मीका वैकल्पिक गोलकिपर विश्वास चौधरीले बचाए ।

६७औं मिनेटमा आर्मीका टंक बहादुर बस्नेतको पासमा कप्तान भरतल खवासले पेनाल्टी बक्सबाट गरेको हेडर मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए।

ईन्जुरी टाईमको पहिलो मिनेटमा आर्मीका विकास तामाङको प्रहार मछिन्द्रका विशाल राईले गोललाईनबाट क्लियर गरेका थिए। यसपछि कुनै गाेल नहुँदा मछिन्द्रले उपाधि हात पार्याे। च्याम्पियन मछिन्द्रले ५० लाख नगद पनि पक्का गरेको छ।  

आर्मी दोस्रो पटक उपाधि नजिक पुगेर चुकेकाे छ। यसअघि २०६३ सालमा पनि आर्मी अन्तिम खेलमा नेपाल पुलिसंग अन्तिम खेलमा पराजित हुुँदै उपाधिबाट बन्चित भएको थियो ।

गत वर्ष अन्तिम दुई स्थानमा रहेर पनि रेलिगेसनमा नपरेको मछिन्द्रले यस सिजन एक अंक गुमाएपनि आर्मीलाई २ अंकले पछि पार्दै लिग जितेको हो। जितसँगै मछिन्द्रको १३ खेलबाट ३२ अंक भएको छ। त्रिभुवन आर्मी २९ अंकसहित दोस्रो बनेको छ।

मछिन्द्रले लिगका १० खेलमा जित र २ मा बराबरी खेल्दा १ मा पराजय भोगेको छ। त्रिभुवन आर्मीले भने ९ खेलमा जित र २ मा बराबरी तथा २ खेलमा हारको सामना गरेको छ।  मछिन्द्रले यस सिजन हिमालयन शेर्पा क्लबसँग मात्र हार बेहोरेको थियो।

आशिष बने सर्वाधिक गोलकर्ता

लिगको सर्वाधिक गोलकर्तामा एपीएफ क्लबका आशिष लामा भएका छन्। उनले लिगमा ९ गोल गरेका छन्।

सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा च्यासल युथ क्लबका सन्तोष साहुखल छन्। उनले ७ गोल गरेका छन्।

प्रकाशित मिति: : 2020-02-16 04:24:44

प्रतिकृया दिनुहोस्