उपप्रधानमन्त्री पोखरेलले कालापानी क्षेत्रको भ्रमण गर्ने

उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने भएका छन्। उनले सोमबार कालापानी क्षेत्रको भ्रमण गर्ने उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिए। 

उपप्रधानमन्त्री पोखरेलको टोलीमा रक्षा मन्त्रालयका एक सहसचिव र नेपाली सेनाका उच्च अधिकारीको समेत सहभागिता हुनेछन्।

भ्रमणका लागि गृह मन्त्रालयले आवश्यक सुरक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको छ। उपप्रधानमन्त्रीको टोलीमा १० जना सहभागी रहने जनाइएको छ।

उपप्रधानमन्त्री भएपछि पहिलो पटक दार्चुला भ्रमण गर्न लागेका पोखरेलले यसअघि २०५३ सालमा दार्चुला भ्रमण गरेका थिए। तत्कालीन अवस्थामा नेकपा एमालेको केन्द्रीय सदस्यको भूमिकामा पोखरेल २०५३ मङ्सिर १७ गते दार्चुला पुगेका थिए।

पछिल्लो समय भारतले नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो नक्शामा समावेश गरेपछि त्यसको विरोध भएको थियो भने सरकारले पनि भूमि आफ्नो भएको दाबी गरेको थियो।

दार्चुलादेखि कालापानीसम्म निर्माण हुने दार्चुला तिङ्कर सडक पछिल्लो समय नेपाली सेनालाई दिने गृहकार्य सुरु भएको छ। अहिले रक्षा मन्त्रालयको अधिकारीसहित भ्रमण गर्ने भएपछि यो सडक नेपाली सेनाले बनाउन सक्छ भन्ने आशा स्थानीयस्तरमा छ। 

प्रकाशित मिति: : 2020-02-17 02:40:10

प्रतिकृया दिनुहोस्