दक्षिण अफ्रिकाविरुद्धको टि २० सिरिज इंग्ल्यान्डलाई

कप्तान इओन मोर्गनको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले घरेलु टोली दक्षिण अफ्रिकाविरुद्धको तीन टि २० सिरिज २-१ ले जितेको छ। 

सेन्चुरियनमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज जितेको हो।

दक्षिण अफ्रिकाले दिएको २ सय २३ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो।

इंग्ल्यान्डकोे जितमा कप्तान मोर्गनले ५७ रनमा अविजित इनिङ खेल्दै जित पक्का गरे। उनले २२ बलमा ७ छक्का प्रहार गरेका थिए। उनले २१ बलमा अर्धशतक पुरा गर्दै सर्वाधिक कम बलमा अर्धशतक पुरा गर्ने कीर्तिमानमा बराबरी गरे।

यता जोनी बेयरस्टोले ३४ बलमा ७ चौका र ३ छक्का सहित ६४ रन बनाए। 

विकेटकिपर जस बटलरले २९ बलमा ९ चौका र २ छक्का सहित ५७ रनको योगदान दिए।

वेन स्टोक्स २२, जोसन रोय ७ र डेविड मलान ११ रनमा आउट भए। यता मोइन अली ५ रनमा नट आउट रहे।

दक्षिण अफ्रिकाका लुन्गी निग्डीले ४ ओभरमा ५५ रन खर्चेर २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले ६६ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ३३ बलमा ४ चौका र ४ छक्का सहित ६६ रन बनाएका थिए।

ओपनर तथा कप्तान क्विन्टन डी कक र तेम्बा बभुमाले ८४ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए।

क्विन्टन डी कक २४ बलमा ४ छक्का र १ चौका सहित ३५ रनमा क्याच आउट भए। 

तेम्बा ४९ रनमा आउट हुन पुगे। आउट हुनुपूर्व उनले २४ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका थिए। यता डेविड मिलर ३५ रनमा अविजित रहे।

इंग्ल्यान्डका टम करन र बेन स्टोक्सले २/२ विकेट लिए। मार्क वुड र आदिल राशिदको नाममा १/१ विकेट रह्यो। 

पहिलो खेलमा दक्षिण अफ्रिका १ रन विजयी हुँदा दोस्रो खेलमा २ रनले पराजित भएको थियो।
 

प्रकाशित मिति: : 2020-02-17 11:43:23

प्रतिकृया दिनुहोस्