महिलाको भनाइ फेरियो, होस्टायल हुँदा दुबैं जोगिए

काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी उद्योग आरोपमा थुनामा रहेका तत्कालीन सभामुख कृष्णबहादुर महरालाई सफाइ दिएको छ। न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरामाथि आरोप लगाउने महिलाको बकपत्र र महराको बयान मिलेकाले अन्य अभियोग दाबी पुग्न नसक्ने भन्दै सफाइ दिने फैसला गरेको हो।

अदालतमा प्रतिवादी महराले गरेको इन्कारी बयान उनीमाथि आरोप लगाउने महिलाको बकपत्रले पुष्टि गरेकाले अन्य अभियोग प्रमाण नपुगेको ठहर अदालतको छ। ‘प्रतिवादी (महरा) ले अदालतमा गरेको इन्कारी बयान, जाहेरीवालाले अदालतमा गरेको बकपत्र एउटै भएकाले अन्य प्रमाण पुगेको देखिएन,’ अदालतका प्रवक्ता आनन्दप्रसाद श्रेष्ठले अदालतको फैसलाबारे उल्लेख गर्दै भने, ‘प्रतिवादीमाथि लगाइएको अभियोग दाबी पुग्न नसक्ने भएकाले सफाइ भएको छ।’

महरामाथि लगाइएको आरोपमा जुटाइएका प्रमाण जाँच गर्दा तुलनात्मक रूपमा विश्लेषण गर्न नपाइएको भन्नेसमेतका आधारमा अभियोग दाबी नपुग्ने न्यायाधीशको राय फैसलामा उल्लेख भएको प्रवक्ता श्रेष्ठले बताए। महिलाको कोठामा भेटिएका प्रमाण परीक्षणका लागि पठाइएको तर औंठाछाप नमिलेकाले प्रमाण नपुगेको अदालतको फैसलामा उल्लेख छ।

प्रकाशित मिति: : 2020-02-19 05:59:29

प्रतिकृया दिनुहोस्