प्रधानमन्‍त्री ओलीको ‘एन्‍जीओग्राफी’ गरियो, आजै ‘डिस्चार्ज' हुने

फाइल तस्बिर

नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका प्रधानमन्त्री केपी ओलीको मुटुको ‘एन्जीओग्राफी’ गरिएको छ। 

मंगलबार साँझ महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको मुटुको ‘एन्जीओग्राफी’ गरिएको हो। सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा अरुण सायमीका अनुसार नियमित स्वास्थ्य जाँच अन्तर्गत मुटुको परीक्षण गर्ने क्रममा ‘एन्जीओग्राफी’ गर्नु परेको हो। 

डा सायमीका अनुसार मुटु र नशाको अवस्था पत्ता लगाउन एन्जीओग्राफी गरिएको हो। मुटुजन्य समस्या पत्ता लगाउन एन्जीओग्राफी गरिने चिकित्सकको भनाइ छ।

‘प्रधानमन्त्री स्वस्थ्यमा ठूलो समस्या छैन, अहिले हामीसँग कुरा गरिरहनु भएको छ’, डा सायमीले भने, ‘केही बेरको आरामपछि बालुवाटार फर्किनु हुनेछ।’

सेन्टरमा नियमित डायलासिका लागि जाने प्रधानमन्त्री ओली डायलासिस नभएर अन्य उपचारका लागि भर्ना भएका हुन्। प्रधानमन्त्री ओली मिर्गौलाको खराबीका कारण केही समययता नियमित डायलासिस गराउँदै आएका छन्। 

प्रधानमन्त्री ओलीको कात्तिक १३ गते पहिलो पटक डायलायसिस भएको थियो। दुवै मिर्गौला फेल हुँदा सातामा दुई वा तीन पटक डायलासिस गर्नुपर्ने हुन्छ। तर, प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा पूर्ण ह्रास नआइसकेका कारण असहज महसुस भए मात्र डायलासिस हुँदै आएको छ। 

गत कात्तिक १३ र १४ गते उनको चौबिस घण्टामा दुईपटक डायलासिस भएको थियो। ०६४ सालमा ओलीको भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपणपछि उनले औषधि सेवन गर्दै आएका छन्।

गत १८ साउन र ५ भदौमा सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गरिएको थियो। प्लाज्माफेरेसिस पद्धतिबाट शरीरमा बढेको एन्टिबडी नष्ट गरिएको थियो।

१२ वर्षअघि मिर्गौला फेल भएपछि प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण गरिएको मिर्गौलाले पिसाबबाट फोहोर निष्कासन गर्न नसकेपछि मेसिनको सहयोग लिएर गरिने फोहोर निष्कासन गर्ने पद्धति नै डायलासिस हो।  

प्रकाशित मिति: : 2020-02-19 08:34:41

प्रतिकृया दिनुहोस्