अफगानिस्तानको राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि घानी निर्वाचित

अफगानिस्तानको निर्वाचन आयोगले सेप्टेम्बर २८ मा भएको राष्ट्रपति निर्वाचनको अन्तिम नतिजा मंगलबार घोषणा गरेको छ। आयोगले राष्ट्रपति मोहम्मद अशरफ घानीलाई दोस्रो कार्यकालमा पदमा रहन विजयी भएको घोषणा गरेको छ ।

‘मोहम्मद अशरफ घानीले राष्ट्रपति चुनावमा ५०‍६४ प्रतिशत मत प्राप्त गर्नुभएको छ त्यसैले स्वतन्त्र निर्वाचन आयोगले उहाँलाई अफगानिस्तानको निर्वाचित राष्ट्रपतिको रूपमा घोषणा गर्दछ,’ निर्वाचन आयोगका प्रमुख हवा आलम नुरिस्तानीले एक पत्रकार सम्मेलनमा भने। 

घानीको प्रतिद्वन्द्वी र उनको राष्ट्रिय एकता सरकारका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्ला ३९.५२ प्रतिशत मतसाथ घानीका निकटतम प्रतिद्वन्द्वी बनेको आयोगले जनाएको छ ।

२००१ को अन्तमा तालिबानी शासनको पतनपछि अफगानिस्तानको चौथो राष्ट्रपति चुनाव सेप्टेम्बर २८ मा कडा सुरक्षाबीच सम्पन्न भएको थियो भने एक दर्जन भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । 

राष्ट्रपति चुनावको प्रारम्भिक नतिजा डिसेम्बरमा घोषणा गरिएको थियो जसमा घानी पहिलो स्थानमा थिए र उनका प्रतिद्वन्द्वी अब्दुल्ला दौडमा दोस्रो स्थानमा नै थिए। मतदानका लागि ९४ लाख मतदाता योग्य मानिए पनि मतदानमा १९ लाखको सहभागिता रहेको थियो। अधिकांश ग्रामिण इलाका र तालिवान विद्रोही नियन्त्रित सहरहरूमा पनि निकै थोरै मतदाताले भोट हालेका थिए । 
 

प्रकाशित मिति: : 2020-02-19 10:59:05

प्रतिकृया दिनुहोस्