बालुवाटारमा छलफल सकियाे, सञ्चारमन्त्री काठमाडाैं फर्किएपछि राजीनामा गराइने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल सकिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घूसको डिल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो।

दुई नेतावीचको भेटवार्तामा सञ्चारमन्त्री बाँस्कोटाको भिडियो प्रकरणबारे छलफल भएको स्रोतले बताएको छ। स्रोतका अनुसार मन्त्री बाँस्कोटालाई राजीनामा दिन लगाउने भएको छ। 

जसले गल्ती गर्छ, त्यही जान्छ ।यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला। 
- गोकुल बाँस्कोटा, ​सञ्चार तथा सूचना प्रविधिमन्त्री

‘अहिले संचारमन्त्री कञ्चनपुरमा हुनुहुन्छ। उहाँ काठमाडौं फर्किएपछि राजनीनामा गराउने भन्ने छलफल भएको छ,’ एक अधिकारीले भने।

बिहीबार बिहान पौने ११ बजे अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि मन्त्री बाँस्कोटाले स्वीस कम्पनीको नेपालस्थित एजेन्टसँग ७० करोड घुसका लागि डिल गरेको अडियो गएराति सार्वजनिक भएको थियो।

यसैबीच आरोपित मन्त्री  बाँस्कोटाले नेकपा बेलडाँडीद्वारा बेलडाँडी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै आरोप प्रमाणित भए सजाय भोग्न तयार भएको बताएका छन् । उनले काठमाडोैं पुगेर विस्तृत प्रतिक्रिया दिने बताउँदै ‘यस्ता विषयले पार्टीलाई लैजाने होइन, आत्तिनु पर्दैन, मैले गल्ती गरेको भए मै जाउँला’ भनेका छन्। 

प्रकाशित मिति: : 2020-02-21 01:08:59

प्रतिकृया दिनुहोस्