तत्काल सञ्चारमन्त्रीकाे जिम्मेवारी कसैलाई नदिइने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएको बताएका छन्।

सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएको बताएका छन्।

राजीनामापछि सामाजिक सञ्जाल फेसबुकमा बाँस्कोटाले लेखेका छन्, ‘मेरोबारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष  नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु। धन्यवाद।’

यता बालुवाटार स्रोतले उनको साट्टोमा अरु कोही तत्काल अरु कसैलाई नियुक्त नगर्ने बताएको छ। ‘सञ्चारमन्त्रीको खाली रहेको पद प्रधानमन्त्री केपी शर्मा ओलीज्यू आफैले राख्ने भन्ने छ,’ स्रोतले भन्यो,‘यदि प्रधानमन्त्र ज्यूले आफैले नराखेको खण्डमा अन्य कुनै मन्त्रीलाई समेत जिम्मेवारी दिन सकिन्छ।’

यसअघि स्वर्गिय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना हुँदापनि रिक्त रहेको पद प्रधानमन्त्री ओलीले आफैले सम्हालेका थिए। त्यसपछि उनले योगेश भट्टराईलाई नियुक्त गरेका थिए।
 

प्रकाशित मिति: : 2020-02-21 05:24:22

प्रतिकृया दिनुहोस्