एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ: प्रचण्ड

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् ।

नेकपा गण्डकी प्रदेशको आन्तरिक कार्यक्रममा सहभागी हुन शनिबार बिहान नवलपुर आइपुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन्।

उनले प्रधानमन्त्री ओलीसमेत एमसीसीलाई परिमार्जन गर्ने पक्षमा रहेको बताए। ‘हिजोमात्रै प्रधानमन्त्रीजीले हामीलाई ब्रिफिङ गर्नुभएको थियो,’ प्रचण्डले भने, ‘अमेरिकी रिपब्लिकन र डेमोक्रेटिकको टोलीसँग कुराकानी हुँदा प्रधानमन्त्रीजीले नै यो एमसीसी भनेको जस्ताको त्यस्तै पास गर्नुपर्ने भन्ने कुनै बाइबल होइन, यसलाई संशोधन गरेर पनि त लागू गर्न सकिन्छ भनेर अस्तिको दिन (बिहीबार) बताइसक्नुभएको छ ।’

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए।

वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए ।

प्रकाशित मिति: : 2020-02-23 01:37:25

प्रतिकृया दिनुहोस्