जनकपुर बमकाण्डका मास्टरमाइन्ड पूर्वराज्यमन्त्री 'टक्ला'लाई आजीवन जेल सजाय

पूर्वराज्यमन्त्री संजय साह ‘टक्ला’लाई आजीवन काराबासको सजाय भएको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कुमार कटुवालको इजलासले उनलाई ६ वर्षअघि जनकपुरमा भएको बम बिष्फोट घटनाको मुख्य योजनाकारका रूपमा यो सजाय सुनाएको हो।

अदालतले उनका ६ सहयोगीलाई पनि जन्मकैदकै सजाय दिएको छ। सजाय पाउँनेमा मुकेश चौधरी,रञ्जित झा, जयप्रकश चौधरी, मुकेशकुमार कर्ण, रिपेन्द झा र सुरेश कर्ण रहेका छन्।घटनामा संलग्न ओमप्रकाश यादवलाई १० वर्ष कैद गरिएको छ भने सुजितकुमार पाण्डले सफाइ पाएका छन्। मुकेश चौधरी र रञ्जित झा तराईमा सशस्त्र संघर्ष गरिरहेका भूमिगत संगठनका नाइके हुन् । घटनाको जिम्मेवारी उनीहरूले लिएका थिए।

घटनामा संलग्न जितेन्द्रकुमार कर्ण, आदित्यदेव भन्ने बाबुल, फुलकुमार बहरखेर यादव र नारायण भन्ने उमेश तिवारी भने फरार रहेका छन्।

टक्ला समुहले मिथिला राज्यको माग गर्दै मिथिला राज्य संघर्ष समितिले रामानन्दचोकमा राखेको शान्तिपूर्ण धर्ना कार्यक्रममा ०६९ साल बैशाख १८ गते बम बिष्फोट गराएको थियो। विष्फोटमा परी चारजनाको घटनास्थलमै ज्यान गएको थियो भने एकजनाको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको थियो । विस्फोटमा परी झंगरु मण्डल, विमलशरण दास, रञ्जु झा, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो । 

जनकपुरका बाहुवली डन टक्लाले दुई पटक भएको संविधान सभाको चुनाव जितेका थिए ।

प्रकाशित मिति: : 2019-03-28 21:38:56

प्रतिकृया दिनुहोस्