बालुवाटारमा प्रधानमन्त्रीकाे ‘बर्थडे सेलिब्रेसन’

प्रधानमन्त्री केपी शर्मा ओलीका शुभेच्छुकहरुले बालुवाटारस्थित निवासमै पुगेर ‘बर्थडे सेलिब्रेसन’ गरेका छन्।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई जन्मदिनको बधाई दिँदै सुस्वास्थ्य र दीर्घायुको कामना गरे।

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए।

उनीहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए।

प्रधानमन्त्री ओली जन्म घर तेह्रथुमको आठराई गाउँपालिका–४ (साविकको इवा गाविस– २ खानीगाउँ) आज जाँदै छन्।

प्रधानमन्त्री ओली जन्मथलो जाने भएपछि तेह्रथुमको आठराई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ। गाउँपालिकाले कर्मचारी तथा शिक्षकहरुलाई ड्रेस कोड नै तोकेर जन्म दिनको कार्यक्रममा अनिवार्य सहभागी हुनसमेत भनेको छ।

गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुका अनुसार प्रधानमन्त्री ओलीको जन्म दिवस मनाउने कार्यक्रम उनी जन्मिएकै घरमा आयोजना गरिएको छ। सो कार्यक्रममा प्रधानमन्त्रीले चार सय जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा र १५ सय विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने छन्।

त्यसअघि प्रधानमन्त्री ओलीले सुकेपोखरीदेखि भानु आधारभूत विद्यालय हुँदै ढुंगेसाँघुसम्म पुग्ने सडकको शिलान्यास र आठराईमा नेपाल बैंकको शाखा कार्यालय उदघाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ।
 

प्रकाशित मिति: : 2020-02-23 23:01:29

प्रतिकृया दिनुहोस्