मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदद्वारा राजीनामा

बिएल संवाददाता

क्वालालाम्पुर

मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले राजीनामा दिएका छन्।

सोमबार प्रधानमन्त्रीबाट राजीनामा दिँदै उनले नयाँ सरकार गठनको प्रक्रिया खुला गरेका छन्।

स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे देशका राजासमक्ष २ लाइनको राजीनामा पत्र दिँदै नयाँ सरकारको लागि बाटो खुला गरेका हुन्।

महाथिरको पार्टी ‘पार्टी प्रिभूमी बेरसातु मलेसिया’ले सत्तारुढ गठबन्धन पाकातान हारापान ‘एलाइन्स फर होप’ पनि छाडेको पार्टीका सभापति मुहिद्दिन यासिनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

एक हप्ता लामो राजनीतिक खिचातानीपछि आइतबार राति महाथिरको पार्टीले उनको उत्तराधिकारीको रुपमा हेरिएका अनवर इब्राहिम बिना नयाँ सरकार बनाउने तयारी गरिरहेको समाचार आएको थियो ।

९४ वर्षीय महाथिर र ७२ वर्षीय अनवरबीच लामो समयदेखि राजनीतिक द्वन्द्व चलिरहेको थियो ।

तर, सन् २०१८ को निर्वाचनअघि अनवर र महाथिर एक भएर ६ दशकदेखि सत्तामा रहेको युएमएनओको बोलबाला रहेको बारिसान नेसनल गठबन्धलाई हराएका थिए । यो अनपेक्षित हारसँगै तत्कालिन प्रधानमन्त्री नाजिब रजाक सत्ताच्यूत भएका थिए ।

तर, अनवरलाई सत्ता हस्तान्तरणको लागि निश्चित समयतालिका बनाउन महाथिरले आनाकानी गरेपछि पाकातान हारापान गठबन्धनमा फुट देखिएको थियो ।

अनवर सन् १९८१ देखि २००३ सम्म महाथिर प्रधानमन्त्री हुँदा उप–प्रधानमन्त्री थिए । सन् १९९८ मा महाथिरले उनलाई बर्खास्त गरेका थिए । लगत्तै अनवरलाई अनैतिक यौनगतिविधि गरेको आरोपमा पक्राउ गरेर जेल चलान गरिएको थियो ।

प्रकाशित मिति: : 2020-02-25 02:43:06

प्रतिकृया दिनुहोस्