समृद्धि र सुखका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले समृद्धि र सुखका लागि शान्तिसुरक्षा मजबुत हुनुपर्ने बताएका छन्। प्रहरी चौकी जुटपानीको नवनिर्मित भवनको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले समृद्धि र सुख एउटा पाटो र शान्तिसुरक्षा अर्को पाटो भएको बताए। 

आन्तरिक सुरक्षामा सरकारको जोड रहेको भन्दै उनले यसको सुनिश्चित नगरेसम्म विकास सम्भव नरहेको बताए। एक पालिका एक इलाका प्रहरी कार्यालय कार्यान्वयन गर्ने नीतिमा सरकार रहेको उनले जानकारी दिए। 

प्रहरीलाई निर्देशन दिँदै उनले भने, ‘अपराधीको मतियार नभई जनताको सेवक भई काम गर्नुहोस्।’ मन्त्री थापाले प्रहरी जनताको शत्रु नभएर साथी भएको भन्दै आम जनतालाई सङ्कटबाट मुक्त गर्न प्रहरीको भूमिका हुनुपर्ने बताए। उनले भने, ‘शान्तिसुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरी र नागरिक समाजबीच एकता आवश्यक छ।’ पहाडी क्षेत्रमा प्रहरी चौकी विस्तारको रणनीतिमा सरकार रहेको उनले स्पष्ट पारे। 

चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको भन्दै उनले यो विकाससँगै सुरक्षाका लागि प्रहरी लागिपरेको बताए। सुरक्षाका लागि प्रदेश प्रहरी गठन र समायोजनको प्रक्रिया शुरु भएको मन्त्री थापाले बताए। 

एघार कोठे सो भवन रु एक करोड ५३ लाख ५३ हजार ३१८ लागतमा निर्माणसम्पन्न भएको हो। भवनमा कार्यालयसहित थुनुवा कक्ष रहेका छन्। चौकीले कालिका नगरपालिका क्षेत्र हेर्दै आएको छ। 

प्रकाशित मिति: : 2020-02-25 03:07:54

प्रतिकृया दिनुहोस्