कम्युनिस्ट नेताहरु जनतामा जान छाडे: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै कम्युनिस्ट नेताहरु जनतामा जान छाडेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गण्डकी प्रदेश कमिटीको प्रदेशस्तरीय भेलामा मुख्यमन्त्री गुरुङले जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको बताए। ‘अहिले हामी जनमानसम्मा पुग्दैनौं र जनता हामीसम्म आउदैनन्। सम्बन्ध बलियो बलाउन हामी उनीहरुको झुपडीमा पुग्नु पर्छ।’

अबको ३ वर्षमा फेरि नेकपा जनताकै बीचमा जानुपर्ने भएकाले पार्टीको अस्तित्व सकिने गतिविधिमा संलग्न नहुने उनले आग्रह गरे। ‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ। कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने।

पार्टीभित्रैबाट आफैंलाई सिध्याउने काम हुन थालेकाले प्रतिक्रियावादीलाई खेल्न सजिलो भएको मुख्यमन्त्री गुरुङले सुनाए। ‘आफैं आफ्नै सरकारको विरुद्धमा छौं। हुन त यसमा गोपनीयताका कुरा होलान्, इमान्दारिताका कुरा होलान्,’ मुख्यममन्त्री गुरुङले भने, ‘हामी आफैंलाई सिध्याउने बाटोमा लागिराख्या छौं।’

प्रकाशित मिति: : 2020-02-25 03:17:09

प्रतिकृया दिनुहोस्