ललितपुरले भित्र्यायाे तीन पाकिस्तानी खेलाडी

बिएल संवाददाता

काठमाडाै‌ं

साविक विजेता ललितपुर पेट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटका लागि तीन पाकिस्तानी खेलाडी अनुबन्ध गरेको छ। 

यसअघि श्रीलंकन उपुल थरंगालाई अनुबन्ध गरिसकेको प्याट्रिओट्सले सोमबार तीन पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेको जनाएको छ। अलराउण्डर द्वय हमम्द अजम र हसन खान तथा लेफ्ट बर्मर फास्ट बलर मिर हम्जालाई ललितपुरले ईपीएलका लागि भित्र्याएको हो।

मिर हमजालाई गत वर्ष इंग्लिस काउन्टी च्याम्पियनसिपका लागि ससेक्स काउन्टी क्रिकेट क्लबले अनुबन्ध गरेको थियो।

हसन खानले २०१८ को पीएसएलमा क्वेट्टा ग्लाडिएटर्स र २०१९ मा लाहोर कलन्दर्सबाट खेलिसकेका छन्। हसनले २०१८ मा पाकिस्तान यु-१९ वर्ल्ड कप टिमको कप्तानीसमेत गरेका थिए।

ईपीएलको आयोजकले सहभागी ६ वटै फ्रेन्चाइजलाई कम्तीमा ३ विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने नियम बनाएको छ। फ्रेन्चाइजले कम्तीमा तीन खेलाडीलाई प्लेइङ ११ मा समेत राख्नैपर्ने नियम छ।

ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ। ललितपुर राष्ट्रिय टिमका कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदान उत्रने छ। टिमको मुख्य प्रशिक्षकमा राजु बस्न्यात रहेका छन्।
 

प्रकाशित मिति: : 2020-02-25 03:46:09

प्रतिकृया दिनुहोस्