नन् इस्युलाई इस्यु बनाएर सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिरहे: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताएका छन्। पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार सम्बोधन गर्दै ओलीले विपक्षीले गैरविषयलाई विषय बनाएर जनतामा भ्रम छरेको पनि आरोप लगाएका हुन्।

प्रधानमन्त्री ओलीले भने,‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्छन्। ‘नन् इस्यु’लाई ‘इस्यु’ बनाएर हामी विरुद्ध लागिरहेका छन्।’

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत ओलीले  प्रधानमन्त्री ओलीले विपक्षीलाई कुखुराको चल्लासँग तुलना पनि गरेका छन्।

‘कुखुराका चल्लाहरूले फट्यांगो टिपेर गुरर कुद्छ। त्यो चल्लाले के टिप्यो थाहा नपाइकन अरू चल्लाहरू पछिपछि कुद्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘ संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने काम भइरहेको छ।’

संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। पछिल्लो समय सरकारले पेश गरेका मिडिया काउन्सिल, सूचना प्रविधि, मानव अधिकार सम्बन्धी विधेयकहरू प्रतिपक्षी दलले विरोध गरिरहेका छन्।
 

प्रकाशित मिति: : 2020-02-25 05:12:32

प्रतिकृया दिनुहोस्