कसैको लहडमा संविधान संशोधन हुँदैन: सुवास नेम्वाङ

बिएल संवाददाता

काठमाडाै‌ं

 नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधन कसैको लहडका आधारमा नभई देश र जनताको आवश्यकताका आधारमा मात्र हुनसक्ने बताएका छन्। उनले कोही व्यक्ति वा कसैको स्वार्थ हेरेर मात्र संविधान संशोधन गर्न नसकिने बताए।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बन्न बाटो खोल्ने प्रयोजनका लागि संविधान संशोधन कार्यदल गठन गरिएको विषयमा जिज्ञासा राख्दा संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भने, ‘पार्टीले आवश्यकता र औचित्य देखाउनुपर्छ। पारदर्शी ढंगले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने हो भने त्यसरी अगाडि बढाउनुपर्छ तर अहिले त्यो भइरहेको देखिएन।’

‘पात्र हेरेर संशोधन गर्न सकिँदैन भनेको हो ?’ भन्ने जिज्ञासामा नेम्वाङले भने, ‘म त्यसमा कहीँ पनि जोड्न चाहन्न। देश र जनताको हितमा आवश्यकता र औचित्यको आधारमा मात्र संविधान संशोधन गर्न सकिन्छ।’

नेकपा सचिवालयको शनिवार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा नेम्वाङ र खिमलाल देवकोटा रहेको संविधान संशोधन कार्यदल गठन गरिएको थियो।

नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको रुचिमा गठन गरिएको उक्त कार्यदललाई उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएर प्रधानमन्त्री बन्ने बाटो खोल्ने उपाय सुझाउने जिम्मेवारी दिइएको थियो। यद्यपि, विरोध हुने डरले यसलाई सार्वजनिक गरिएको थिएन।

बीएल नेपाली सेवासँगको कुराकानीका क्रममा नेम्वाङले संविधान संशोधन कार्यदल बनेको छ भन्ने पनि आफूलाई जानकारी नभएको दाबी गरे। ‘कार्यदल बनाउने बारेमा र मलाई राख्ने बारेमा कसैले पनि मलाई सोधेको छैन, जानकारी गराएको पनि छैन’, उनले भने, ‘स्वयम् महासचिवले सञ्चार माध्यमहरूलाई त्यस्तो कुनै काम हामीले गरेका छैनौँ भन्नुभएको छ।’

नेम्वाङका अनुसार, संविधान बनेपछिको एउटा समयावधिसम्म संविधान संशोधन नगरी संविधान कार्यान्वयन गर्न लागौँ भनेर नेकपाले त्यसलाई अस्वीकार गर्दै आएको थियो।

संविधान कार्यान्वयनका क्रममा संघीय संसद् र प्रदेशसभा बनाएपछि संविधान संशोधन गर्नसक्ने चरणमा प्रवेश गरेको बताउँदै उनले भने, ‘त्यसपछि हामीले भन्यौँ– अब आधार तयार भयो, संविधान संशोधन हुनसक्छ।’

‘संविधान संशोधन लहडको आधारमा होइन, देश र जनताको हितमा आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन हुनुपर्छ’, उनले भने, ‘यो बेलामा समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टीलगायत थुप्रै दल र मित्रहरूसँग छलफल गर्दा यो आवश्यकता र औचित्य देखापरेको भनेर हामीले भनेनौँ। संविधान संशोधनको प्रक्रियामा गइएन। अहिले पनि हामी भनिरहेका छौँ– हामी तयार छौँ, आवश्यकता र औचित्यका आधारमा संविधान संशोधनको प्रक्रियामा अघि बढ्न सकिन्छ। अहिले जे भयो, फेरि पनि म दोहो¥याउँछु– मलाई जानकारी छैन। मलाई सोधिएको छैन।’ 

प्रकाशित मिति: : 2020-02-25 06:49:30

प्रतिकृया दिनुहोस्