सदनमा गगनकाे कटाक्ष : 'प्रधानमन्त्रीलाई जताबाट हेरे पनि यतीवादी देखिन्छ'

प्रमुख परतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जताबाट हेरे पनि मार्क्सवादी र समाजवादी नभई जताबाट हेरे पनि यतीवादी देखिने बताएका छन्।

मंगलबार बसेकाे प्रतिनिधिसभाकाे बैठककाे विशेष समयमा बाेल्दै सांसद् थापाले भने, ‘पहिले पहिले मार्क्सवादी, बीचमा समाजवादी आजभोलि यताबाट उताबाट हेरे पनि यतीवादी देखिनुभएको छ।’  

निवर्तमान सञ्चारमन्त्री गाेकुल बास्काेटाले ७० कराेड कमिसन डिल गरेकाे अडियाे टेपबारे सदनमा आएर प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग पनि थापाले गरेका छन् ।

‘गोकुल बाँस्कोटा र विजय मिश्रको वार्तालाप हामीले सुन्यौँ । यो अडियो प्रधानमन्त्रीले पहिले नै सुन्नुभएको थियो भन्ने हामीले थाहा पायौँ । तर यसबारे संसदमा आँखा जुधाएर जवाफ दिने हिम्मत हुनुपर्छ,’ नेता थापाले भने ।

प्रधानमन्त्रीका आसेपासेले याे विषय ओलीलाई थाहा नभएकाे भन्ने गरेकाे भन्दै उनले आफ्ना सबैभन्दा विश्वास पात्रकाे विषयमा थाहा नभए प्रधानमन्त्रीलाई के थाहा हुन्छ भनी प्रश्न गरे । 'प्रधानमन्त्रीलाई याे विषय थाहा थिएन भन्ने कुरा विश्वास गर्नै सकिँदैन', उनले भने, 'यदि याे कुरा तपाईंलाई थाहा थिएन भने प्रधानमन्त्री ज्यू के चैं थाहा थियाे ?'

यसैगरी सांसद थापाले प्रधानमन्त्रीले हेलिकप्टर चार्टर्ड गरी तामझामका साथ जन्मदिन मनाएको दृश्यले तत्कालीन राजा ज्ञानेन्द्र शाहको ‘न्यास्रो मेटाएको’ पनि बताएका छन् । थापाले भने, ‘जन्मदिन मनाउनुमा आपत्ति छैन, मेरो पनि शुभकामना छ । तर उहाँ जुन ओहोदामा हुनुहुन्छ, यस्तो तामझाम गरेर जन्मोत्सव मनाउँदा ६०-६१ सालतिरका राजा ज्ञानेन्द्रको न्यास्रो मेटाएको छ ।’

उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘तपाईंलाई थाहा छ ? नागरिक के भन्दैछन् ? फोर जी र स्याटलाइटको ठेक्कामा पनि करोडौं भ्रष्टाचार भएको छ । सम्मानमीय प्रधानमन्त्रीलाई सबै थाहा थियो, अहिले गोकुल बाँस्कोटालाई बलीको बोका बनाइयो भन्दैछन् । थाहा छ तापईंलाई ?’

प्रकाशित मिति: : 2020-02-26 03:28:18

प्रतिकृया दिनुहोस्