स्विट्जरल्याण्डबाट परराष्ट्रमन्त्री ज्ञवालीको आक्रोश- के नेकपा स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो?

लक्ष्मण देवकाटा

जेनेभा ब्यूरो

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेकपा भित्र भइरहेको चलखेलप्रति तिब्र आक्रोश पोखेका छन्।

संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको त्रिचालिसौँ सभामा सहभागी हुन स्विट्जरल्याण्डको जेनेभा आइपुगेका मन्त्री ज्ञवालीले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री हुन संविधान संशोधन गर्न भइरहेको चलखेललाई बेमौसमी बहस भन्दै आक्रोश पोखेका हुन्।

बौद्धिक नेताको रुपमा चर्चित ज्ञवालीले ट्वीट गर्दै नेतृत्व पंक्तिलाई भनेका छन्, ‘कमरेडहरु, गत निर्वाचनमा हामीमाथि जनविश्वासको आधार थियो स्थिरता र समृद्धिको अपिल। तर कहिले आलोपालो प्रम त कहिले शासन प्रणाली परिवर्तन, अनि राष्ट्रियसभा सदस्य पनि प्रम हुने व्यवस्था गर्न संविधान संशोधनको बेमौसमी बहस।’

केही अघिसम्म एमसिसी पास हुने कुरामा ढुक्क रहेको कुरा सार्वजनिक रूपमै व्यक्त गरेका नेता ज्ञवाली आफैं सम्मिलित एमसीसी अध्ययन टोलीमा रही परिमार्जन गरेर मात्र पास गर्नुपर्ने कुरामा सहमत भएर प्रतिवेदन बुझाएपछि संकटमा परेका छन्।

वामदेव गौतमको प्रधानमन्त्री बन्ने चलखेलप्रति इंगित गर्दै उनले नेतृत्वसँग प्रश्न गरेका छन्, ‘के नेकपा राजनीतिक स्थिरता दिन अक्षम छ भन्ने सन्देश दिन खोजिएको हो?’

आजै संयुक्त राष्ट्रसंघको जेनेभा मुख्यालयमा परिषदको सभालाई सम्बोधन गर्दै स्वतन्त्र न्यायपालिका र जनताबाट निर्वाचित सरकारले धर्मनिरपेक्ष मुलुकको रुपमा  मानवअधिकारका धार्मिकलगायत सबै स्वतन्त्रतालाई सुनिश्चित गर्दै समृद्धिको दिशामा नेपाल अघि बढिरहेको बताए।

बाल श्रम र बाल विवाहलाई अन्त्य गर्न कानून मजबुत गरिएको र कामदारको रुपमा बाह्य मुलुकमा जाने महिलालगायत नेपाली श्रमिमको सुरक्षाको निम्ति पहल गरिएको र जलवायु परिवर्तनले नेपाल जस्तो मुलुकलाई पार्ने प्रभाव रोक्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्दै आउने दुई वर्षको निम्ति मानव अधिकार परिषदको सदस्यको रुपमा काम गर्ने गरी नेपालले सबै देशहरुको समर्थन खोजको बताए ।

प्रकाशित मिति: : 2020-02-26 20:59:00

प्रतिकृया दिनुहोस्