आराम गर्न सुकुटे पुगे प्रचण्ड

बिएल संवाददाता

सिन्धुपाल्चोक
नेकपाका प्रचण्ड सिन्धुपाल्चोकको सुकुटेमा ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोक पुगेका छन्। शुक्रबार चितवनको एक कार्यक्रम सकेर प्रचण्ड हेलिकप्टरमार्फत सिन्धुपाल्चोकको सुकुटे पुगेका हुन्।

प्रचण्ड समयसमयमा सिन्धुपाल्चोक जाने गर्दछन्। पछिल्लो पटक पुसको तेस्रो साता मात्रै सुकुटेमाथिको गाउँ कदमबासमा पुगेर एक रात बसेका थिए।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार शनिवार हुने सुकुटे महोत्सवमा सहभागी हुन उता गएका हुन्।

सापकोटाले भने, ‘सुकुटे महोत्सवमा सहभागी हुन अध्यक्ष त्यता जानुभएको हो।’

यतिबेला उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी सचिवालयको निर्णय नै अन्यौलमा छ। शुक्रबार बिहान मात्रै प्रचण्डले आफ्नो निवासमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतसँग छलफल गरेका थिए।

खुमलटारमा शुक्रबार बिहानको छलफलमा सहभागी प्रचण्ड, नेपाल र पूर्वअध्यक्ष झलनाथ खनालले सचिवालयले सर्वसम्मत निर्णय भएकोले यसलाई कार्यान्वयन हुनुपर्नेमा तीनै नेताको जोड रहेको थियो। पार्टीको माथिल्लो निकायले सर्वसम्मत रुपमा गरेको निर्णय कार्यान्वयन नहुँदा यसले दुर्घटना निम्त्याउने निश्कर्ष छलफलका निकालिएको स्रोतले बतायो। 

खुमलटारको बैठक सकेर चितवन पुगेका प्रचण्डले वामदेवलाई राष्ट्रियसभा पठाउने निर्णय सर्वसम्मत भएकोले यसको कार्यान्वयनको विकल्प नरहेको बताएका छन्। 

खुमलटारमा डाकिएको बैठकमा वामदेव भने स्वास्थ्यका कारण उपस्थित भएनन्।गौतमकै निवास भैंसेपाटीमा शुक्रबार पार्टी महासचिव विष्णु पौडेल र वामदेवबीच कुराकानी भएको छ। 
 

प्रकाशित मिति: : 2020-02-29 06:40:45

प्रतिकृया दिनुहोस्