काेराेना भाइरसकाे प्रभाव: चीन २००८ को आर्थिकमन्दी भन्दा  खराब अवस्थातर्फ

एजेन्सी

बेइजिङ

कोरोना भाइरसका कारण चीनको अर्थव्यवस्था सन् २००८ को आर्थिकमन्दीभन्दा तल्लो स्तरमा झरेको छ। 

शनिबार सार्वजनिक तालिकाअनुसार यो फेब्रुअरीमा चीनको उत्पादकत्वमा ठूलो क्षति पुगेको छ। जसका कारण चीनको अर्थव्यवस्थामा गम्भीर असर परेको बताइन्छ। 

चीन विश्वको दोस्रो ठूलो अर्थव्यवस्था भएको देश हो। 

विदेशी समाचारका अनुसार चीनको स्टक मार्केट २००८ को मन्दीपछि सबैभन्दा तल झरेको छ। चीनको अर्थव्यवस्थामा देखिन थालेको प्रभावले विश्वकै अर्थव्यवस्थामा गम्भीर असर पर्न सक्ने भन्दै अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्। 

यति बेला कोरोना भाइरस विश्वभरि नै फैलिरहेको छ। विश्लेषकहरूले यो आर्थिक वर्षको पहिलो तीन महिना चीनको आर्थिक बृद्धि दरमा पनि गम्भीर प्रभाव देखिने छ। शनिबार जारी भएको रेकर्डमा कोरोना भाइरसका कारण चीनको सबै ठाउँको उद्योगमा प्रभाव परेको छ।

उत्पादकत्व क्षेत्रको आर्थिक सूचांक इन्डिकेटर पर्चेजिङ मेनेजर्स इन्डेक्स (पिएमआई) फेब्रुअरीमा ३५ दशमलव ७ अंक देखिएको छ। यसको नतिजा ५० भन्दा माथि पुग्यो भने मात्र आर्थिक अवस्था राम्रो मानिन्छ।

५० भन्दा तल गएको खण्डमा राम्राे संकेत मानिदैन। गत जनवरीमा यसको आंकडा  ५० मापन गरिएको थियो। २००५ देखि पिएमआईको मापन गर्न सुरु गरिएको हो। 


 

प्रकाशित मिति: : 2020-03-01 00:30:43

प्रतिकृया दिनुहोस्