दमक र विराटनगरमा दुर्घटना, ३ काे मृत्यु

पूृर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चौकमा वियर लोड गरेर झापाको दमकतर्फ जाँदै गरेको ट्रकले गोरु लोड गरेको अर्को ट्रकलाई शनिबार बिहान ठक्कर दिँदा ठूलो दुर्घटना भएको छ। 

दुर्घटनामा वियर लोड गरेको ट्रकका चालक र सहचालकको मृत्यु भएको छ। नवलपरासीबाट गोर्खा स्ट्रङ वियर लिएर झापाको दमकतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०९१ नम्बरको ट्रकले सडकमा रोकिराखेको गोरु लोड गरिएको ना ८ ख ६७ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले जानकारी दिए। 

दुर्घटनामा परेर ट्रकका चालक चितवन भरतपुर नगरपालिका– ११ का २८ वर्षीय अजय अधिकारीको घटनास्थलमै र सहचालक भरतपुर–१ कै ३० वर्षीय अंकित घर्तीमगरको उपचारका क्रममा झापाको बी एण्ड सी अस्पतालमा मृत्यु भयाे।

डीएसपी गिरीले ठक्कर दिने ट्रक तीव्र गतिमा रहेको र नियन्त्रण गुमाएर दुर्घटना भएको जानकारी दिए। लामो रुटमा एक जना मात्रै चालकले कुदाएको र चालकको निद्रा नपुगेका कारण अगाडि रहेको अर्को ट्रक ठिम्याउन नसक्दा पनि ठोक्किएको हुन सक्ने उनको भनाइ छ। 

रोकेर राखिएको ट्रक सर्लाहीको लालबन्दीबाट २८ वटा गोरु लिएर झापाको घैलाडुब्बा जाँदै थियो । दुर्घटनामा चारवटा गोरु मरेका छन् । २४ वटा जीवित भेटिए पनि घाइते अवस्थामा रहेको डीएसपी गिरीले बताए। 

गोरु सर्लाहीको लालबन्दीबाट सबै प्रक्रिया पूरा गर्दै खरिद गरेर ल्याइएको प्रहरीको भनाइ छ। डीएसपी गिरीले सर्लाहीबाट निरजकुमार सिंहले चौपाय खरिद बिक्री केन्द्रबाट पठाएका गोरु झापा दमकका जीवन कार्कीले ल्याएको खुलेको जानकारी दिए। पाँच हजारका दरले एक लाख ४० हजार रुपैयाँमा सबै गोरु खरिद गरेको बिल पनि चालकको साथमै रहेको र तत्काल हेर्दा सबै प्रक्रिया पूरा गरेर गोरु ल्याएको देखिने उनको भनाइ छ । उनले गोरु दमकका कार्कीकै जिम्मा लगाएर पठाइसकिएको जानकारी दिए।

गोरु लोड गरिएको ट्रक र त्यसका चालक सर्लाहीको हरिवन नगरपालिका–७ का ३७ वर्षीय हिरणराज वम्जनलाई नियन्त्रणमा लिएर घटनाका बारेमा बाँकी अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। चालक वम्जनले ट्रक रोकर आफू पिसाब गर्न गएका बेला अर्को ट्रकले पछाडिबाट आएर ठक्कर दिएको प्रहरीलाई बताएका छन्। 

विराटनगरमा पनि दुर्घटनामा एकको मृत्यु 

विराटनगर महानगरपालिका– १ बुद्धचौकमा शनिबार बिहान ७ बजे उत्तरतर्फ जाँदै गरेको को २८ प ६८४७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु ४० वर्षीय रमा पौडेलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराट नर्सिङ होममा मृत्यु भएको हो। दुर्घटनामा झापा गौरीगञ्ज घर भई विराटनगरमा डेरा बस्दै आएका मोटरसाइकल चालक १९ वर्षीय विकाश कर्ण पनि गम्भीर घाइते भएका छन् । मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले कर्णको चिन्ताजनक अवस्थामा नर्सिङ होममै उपचार भइरहेको जानकारी दिए। 
 

प्रकाशित मिति: : 2020-03-01 02:55:52

प्रतिकृया दिनुहोस्