सरकारले आगामी बैशाखदेखि दीर्घकालीन फोहर विसर्जनस्थल बञ्चरेडाँडामा गर्ने भएको छ।
पहिलो चरणको कार्य आगामी चैत अन्तिम साता सकिने र वैशाख १ गतेदेखि दीर्घकालीन रुपमा फोहरको अन्तिम व्यवस्थापन शुरु गर्ने गरी काम अघि बढाइएको शहरी विकास मन्त्रालयले जनाएको छ।
केही समयअघि आन्तरिक समस्याका कारण निर्माण रोकिए पनि हाल नियमित रुपमा निर्माण भइरहेको छ। काठमाडौं उपत्यकाका १८ स्थानीय तहले सिसडोलमा दुई वर्षका लागि भन्दै १०३ वर्षदेखि फोहरको अन्तिम व्यवस्थापन गर्दै आएका थिए।
मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीका अनुसार डिजाइन र माटो परीक्षणको कामसँगै क्षेत्र निरीक्षणको काम सकी पहिलो चरण सकेर फोहर राख्न शुरु गर्न लागिएको हो ।
विसर्जनस्थल निर्माणका लागि मन्त्रालयले रु ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषद्को गत मङ्सिर १७ गतेको बैठकले दीर्घकालीन फोहर व्यवस्थापनस्थल निर्माणको जिम्मा शहरी मन्त्रालयलाई दिने निर्णय गरेको थियो।
करीब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ। निर्णयअनुसार बाँध निर्माणको काम सो मन्त्रालयले गर्ने र विजर्सनस्थलसम्म जाने बाटो निर्माणको काम सडक विभागलाई दिइएको छ।
काठमाडौं उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ।
हरेक दिन उपत्यकाबाट निजी र कामपाका गरी २०० गाडी फोहर लगिने गरिएको छ । कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले आगामी दिनमा यसअघि जस्तो समयसमयमा फोहर नउठ्ने समस्या नरहने बताए। विगत वर्षमा वर्षात्का समयमा हप्तौँ फोहर नउठ्ने समस्या हुने गरेको थियो ।