तनहुँमा हुने राष्ट्रिय साहित्य सम्मेलनका स्थगित

आगामी फागुन २४ देखि २६ सम्म तनहुँको दमौलीमा हुन लागेको दोस्रो राष्ट्रिय साहित्य सम्मेलन स्थगित भएको छ।

सम्मेलनको पूर्ण तयारी भईसके पनि सरकारले कोरोना भाइरसका कारण सभा सम्मेलन नगर्न सूचीत गरेपछि कार्यक्रम स्थगित गरिएको गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष सागर उदासले जानकारी दिए।

‘सम्मेलनको पूर्ण तयारी भईसकेको आस्थामा अहिले संसारभरका मानिसलाई कोरोना भाइरसले त्रस्त बनाएकोले नेपाल सरकार र जिल्ला प्रशासन कार्यालय तनहुँले आम नागरिकको स्वास्थ्यलाई ध्यान दिई कुनै पनि सभा, सम्मेलनको आयोजना नगर्न निर्देशन र सूचना जारी गरेपछि प्रतिष्ठानद्वारा फागुन २४–२६ गते गर्ने भनिएको सम्मेलन र प्रतियोगिता हाललाई स्थगित गरिएको विज्ञप्ती जारी गर्नु पर्दा दुःख लागेको छ’, अध्यक्ष सागर उदास (अर्जुन अधिकारी) द्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

 ‘भाषा, साहित्य, र संस्कतिको उत्थान: साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ स्थापना भएको गण्डकी वाङ्मय प्रतिष्ठानले नेपाल भ्रमण वर्ष –२०२० सन्दर्भमा यही फागुन २४–२६ गतेसम्म दोस्रो राष्ट्रिय साहित्य सम्मेलन तथा राष्ट्रिय कविता प्रतियोगिता हुने भनिएको थियो।

कार्यक्रमका लागि स्वदेश र विदेशबाट विभिन्न श्रष्टाहरूले कविता पठाइसकेको भन्दै अध्यक्ष उदासले कविता पठाउनु हुने २३७ जना कविज्यूहरूमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दछौं भनेका छन्।

उनले बडो उत्साहकासाथ आयोजित सम्मेलनका लागि तन, मन, धनले साथ सहयोग गर्नु हुने तमाम संघ, संस्था र महानुभावप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गर्दै अनुकूल समयमा सम्मेलन गर्ने जानकारी गराएका छन्।

सम्मेलनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु ५५ हजार, ४० हजार र २५ हजार प्रदान गरिने तथा सान्त्वना हुने छ जनालाई रु १०/१० हजार प्रदान गरिने आयोजकले जनाएको थियो।

यसअघि प्रतिष्ठानले विसं २०५३ फागुन १ गते दमौलीमा राष्ट्रिय साहित्य सम्मेलन आयोजना गरेको थियो।

प्रकाशित मिति: : 2020-03-04 11:33:56

प्रतिकृया दिनुहोस्