प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण आज, मनोबल उच्च देखेर चिकित्सकसमेत चकित !

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिहान नौ बजे मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ। प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहेको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको त्रिवि शिक्षण अस्पतालले बताएको छ ।

मंगलबार प्रेस विज्ञप्ति जारी गरी मृगौला प्रत्यारोपण तयारीका लागि अस्तताल भर्ना गरिएको दोस्रो दिन सम्पूर्ण परीक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको थियो।

त्यस्तै विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिरहेको समेत अस्पतालले बताएको छ। त्यस्तै प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याव परिक्षणहरु गर्ने क्रम जारी रहेको समेत विज्ञप्तिमा उल्लेख छ।

अस्पतालका निर्देशक खड्गाका अनुसार वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राडा दिव्या सिंह शाहको नेतृत्वमा नेफ्रोलोजी टिमले प्रत्यक्ष निगरानी गरिरहेको छ। प्रधानमन्त्री ओलीको मनोबल उच्च देखेर चिकित्सकसमेत चकित छन्। ‘आत्मबल त एकदमै बलियो छ,’वरिष्ठ पेट रोग विशेषज्ञ डा. खड्गाले भने।

प्रधानमन्त्री ओलीलाई भान्जी साइनो पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गर्न लागेकी छन्। प्रधानमन्त्री ओलीका निजी चिकित्सकसमेत रहेकी डा. शाहको नेतृत्वमा खटिएको नेफ्रोलोजी टिमले तयार पारेपछि युरोलोजी टिमका चिकित्सक शल्यक्रियामा संलग्न हुनेछन्।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी लिन सरकारका केही मन्त्रीहरू मंगलबार दिउँसो त्रिवि शिक्षण अस्पताल पुगेका थिए। अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराई अस्पताल पुगेका थिए।

त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे  जानकारीलिन मंगलबार दिउँसो अस्तपताल पुगेका थिए।
 

प्रकाशित मिति: : 2020-03-04 19:48:45

प्रतिकृया दिनुहोस्