विराटचाैक तनावग्रस्त, ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन

हजुरबुबा र नातिनीको सडक दुर्घटनामा मृत्यु भएपछि मोरङको विराटचाैक सडकखण्ड तनावग्रस्त बनेको छ।

विराटनगरमा महानगरपालिका–१९ स्थित मिलनचोकमा उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मंगलबार राति ९ः३० बजे ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीका अनुसार टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको हो।

घटना लगत्तै सो क्षेत्रमा रातभर अवस्था तनावपूर्ण रहेको थियो। रुख काटेर सडकमा  तेस्र्याउँदै र टायर बालेर प्रदर्शन जारी राखिएपछि कुनै सवारी साधन सञ्चालन हुन सकेको छैन।  
 
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईकाअनुसार आगजनीपछि जलेको टिपरमा पनि पूर्ण रुपमा क्षति पुगेको छ।  जिल्ला प्रहरी कार्यालय मोरङ तथा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले भिडलाई हटाएर दमकलको सहयोगमा उक्त आगो निभाएको उनले बताए।

घटना लगत्तै दुवै जना मृतकको शव सडकमा तेस्र्याएर स्थानीय र आफन्तले विराटनगर–विराटचौक सडक खण्डमा घटनाको विरोध गर्दै नाराबाजी र प्रदर्शन गरेका थिए।  स्थानीयले प्रहरीलाई शव समेत उठाउन दिइएन। 

वडा अध्यक्ष सरदारका अनुसार प्रहरी, जनप्रतिनिधि, स्थानीय र आफन्तबीच भएको वार्तापछि ठक्कर दिने टिपर चालकलाई कारबाही गर्ने र मृतककका परिवारलाई क्षतिपूर्ति दिने सहमति बनेको थियो। सहमतिपछि भने शव उठाउन दिन स्थानीय र आफन्त राजी भएका थिए। शव पोस्टमार्टमका लागि कोशी अस्पतालमा पु¥याइएको छ।  

तर आन्दोलित स्थानीयले भने अहिले पनि सवारी साधन सञ्चालनमा रोक लगाउँदै झोराहाट र मिलनचौकमा टायर बालेर प्रदर्शन गरिरहेका कारण सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ। रुखहरु काटेर सडकमा तेस्र्याइएको छ। थप कुनै पनि अप्रिय घटना हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर स्थितीलाई नियन्त्रणमा लिने प्रयास भइरहेको डीएसपी राईको भनाइ छ। 

मृतकका छिमेकी श्याम सरदारले घटनापछि स्थानीय बासिन्दा आक्रोसित बनेर लापरबाही पूर्ण तरिकाले कुदाएर दुर्घटना गराएको भन्दै टिपरमा आगजनी गरेको बताए। उनकाअनुसार मृतक दुवै जना आफन्तको बिहेमा पुगेर फर्कदै थिए।

‘घटनाको प्रकृति हेर्दा सुरुमा अटोलाई ठक्कर दिएपछि टिपर ब्याक गरेर पनि किचेको हुन सक्ने हाम्रो आशंका छ,’ श्यामले भने, ‘सडकमा बढेको टिपरको आतंक र ज्यादती बन्द गर्नु पर्ने माग गर्दै स्थानीय र मृतकका आफन्तले आन्दोलनलाई जारी राखेका छन्।’ 

उनले दोषीमाथि कारबाही हुनु पर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने, टिपरको आतंक बन्द गर्नु पर्ने लगायतका माग स्थानीयले अघि सारेको बताए। मागको सुनुवाई नभए थप आन्दोलन चर्काउने उनको भनाइ छ। श्यामले मृतकको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर रहेको जानकारी दिए। 

 टिपर चालक सुनसरीको रामधुनी गाउँपालिका–५ झुम्काका ३३ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ। 

प्रकाशित मिति: : 2020-03-05 10:45:32

प्रतिकृया दिनुहोस्