विश्व कप छनोट: अष्ट्रेलिया र नेपालबीचकाे खेल अन्याैलमा

दीप सुवेदी

काठमाडाै‌ं

विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको कारण खेलकुद गतिविधि प्रभावित भएको छ। त्यसैले नेपालमा पनि खेलकुद गतिविधि प्रभावित हुन सक्ने सम्भावना बढेको हो।

यता यही मार्च अन्तिममा नेपालमा हुने तय भएको विश्व कप छनोट अन्तर्गतको खेल पनि सर्न सक्ने सम्भावना बढेको छ। अष्ट्रेलियाले नेपालबिरुद्धको पुर्वनिर्धारित खेल सार्न फिफालाई प्रस्ताव गरेको छ।

समूह बी अन्तर्गत नेपालले मार्च २६ मा चाइनिज ताईपेई र मार्च ३१ मा अष्ट्रेलियासँग दशरथ रंगशालामा हुँदैछ। अष्ट्रेलियाले खेल सार्न एएफसीमा निवेदन दिएको खबर सार्वजनिक भएपछि खेल हुने–नहुने अन्योल बढेको छ।

‘अष्ट्रेलियाले कोरोना भाईरसका कारण नेपालसँगको खेल सार्न एएफसीमा प्रस्ताव गरेको छ।’ एन्फा प्रवक्ता किरण राईले भने, ‘खेल सार्न माग सहित उसले एएफसीमा निवेदन दिएको छ।’

यद्दपि अहिलेसम्म कुनै निर्णय नभएको उनी बताउँछन्। विश्वकप छनोटको खेल तत्काललाई स्थगित गर्न माग गर्दै म्यानमार, कोरिया, अष्ट्रेलिया लगायतका देशले एसियाली फुटबल महासंघ एएफसीमा निवेदन दिएका छन्।

अहिले नेपालमा पनि बी डिभिजन लिग फुटबल भइरहेको छ भने मोफसलमा नकआउट टुर्नामेन्टहरु भइरहेको छ। तर एन्फाले खेल रोक्ने वा गर्ने भन्नेबारे केही आधिकारिक निर्णय भएको छैन। एन्फाले आफैं पनि चैत ३ गतेदेखि महिला लिग आयोजना गर्दैछ।

यसैबीच राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाले अहिले भइरहेका खेलकुद प्रतियोगिता र अब हुने खेलकुद प्रतियोगिता कोरोनाको संक्रमण कम नभएसम्म रोक्नको लागि विज्ञप्ती जारी गर्ने तयारीमा रहेको बताए।

विश्वकप छनोटको समूह चरणको चारै अवे खेल खेलिसकेको नेपालले अब बाँकी खेल घरेलु मैदानमा खेल्नेछ। दशरथ रंगशाला तयार नभएको अवस्थामा कुवेतविरुद्धको होम गेम नेपालले भुटानमा खेलेको थियो।

नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो। यस्तै, अष्ट्रेलियासंग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो। अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो।

प्रकाशित मिति: : 2020-03-06 02:05:25

प्रतिकृया दिनुहोस्