कोरोना भाइरसबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

प्रतिनिधिसभा बैठक बिहान ११ बजे बस्दै छ। शुक्रबार बस्ने बैठकमा कोरोना भाइरस अर्थात कोभिड–१९ बारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ। 

संसद सचिवालयले सार्वजनिक गरेको शुक्रबारको सम्भावित कार्यसूचीमा बैठकमा कांग्रेस सांसद गगन थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्ने छन्।

सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको बताए।

विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरुको जवाफ पनि सरकारले सदनलाई दिनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ।

सो प्रस्तावका समर्थकहरुमा सांसदहरु सञ्जयकुमार गौतम, दिव्यमणि राजभण्डारी, राजेन्द्रकुमार केसी र नारायण खड्का छन्।

प्रकाशित मिति: : 2020-03-06 21:04:13

प्रतिकृया दिनुहोस्