अमेरिकामा नेपाली डायस्पोराको 'रोजीरोटी' र 'दालभात' प्रभावित

प्रदीप भट्टराई

कान्सास सिटी, अमेरिका

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा रहेका नेपालीको जनजीवन प्रभावित भएको छ। खासगरी नेपालीहरूको बाक्लो बसोबास भएका न्युयोर्क, टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, वासिङ्टन डीसी मेट्रो एरियालगायतको नेपाली डायस्पोरामा यसको प्रभाव देखिएको छ ।

सप्ताहान्तमा बाक्लै कार्यक्रम र जमघट हुने यी ठाउँमा यो सप्ताहान्तमा खासै कार्यक्रम र जमघट आयोजना भएनन्। कतिपय पूर्वनिर्धारित कार्यक्रम पनि स्थगित वा रद्द गरिए। केही कार्यक्रम भने नाम मात्रको सहभागितामा सम्पन्न भएका छन्।

मानिसहरू अत्यावश्यक काममा बाहेक बाहिर निस्कन छोडेका छन्। यसले गर्दा नेपाली  रेष्टुरेन्टमा ग्राहकको संख्या उल्लेखनीय संख्यामा घटेको छ। यसै पनि एसियाली मूलका आप्रवासीले चलाएका रेष्टुरेन्ट केही समययता गुल्जार हुन छोडेकै छन्।

नेपाली संलग्न अर्को ठूलो क्षेत्र भनेको उबरलगायतका सार्वजनिक सवारीका साधन चलाउने क्षेत्र हो। कोरोना भाइरसबाट यो क्षेत्र पनि अत्याधिक मात्रामा प्रभावित भएको छ।

न्युयोर्कमा एक उबर ड्राइभरलाई कोवेड-१९ भएको खबर बाहिरिएपछि उवरले ग्राहक नै पाउन छोडेको छ। धेरै उबर चालकहरूले कोरोना संक्रमित यात्रु हुनसक्ने भन्दै डराएर गाडी चलाउन छोडेका छन्। न्युयोर्कमा उबर चलाउने एक नेपाली चालक टासी शेर्पा भन्छन्, 'एक त ग्राहक नै पाइदैनन्, पाइहाले पनि कोरोना लागेको पो हुने हो कि ?, मनमा सधैं डर भैरहन्छ। ज्यानभन्दा ठूलो त के छ र ? त्यसैले मैले त केही दिनयता चलाउनै छोडेको छु।'

अमेरिकामा कोरोना भाइरसबाट नेपाली डायस्पोराको रोजीरोटी र दालभात पनि प्रभावित हुन थालेको छ। नेपालीले चलाएका रेष्टुरेन्ट, ग्रोसरी, स्टोरमा ग्राहकको संख्या घट्दा उनीहरूको रोजीरोटीमा असर परेको छ भने दाल, चामल र मरमसलाको अभावमा उनीहरूको भान्सामा दाल-भात-तरकारी पनि पाक्न छोडेको छ। 

नेपालीको संलग्नता रहेका नेल सैलुन, ब्युटी पार्लरलगायतका व्यवसाय पनि प्रभावित भएको बताइएको छ। मेरिल्याण्डको बाल्टिमोरमा ब्युटी पार्लर चलाइरहेकी रमिता श्रेष्ठ भन्छिन्, 'ग्राहक आउँनै छोडे। त्यसैले मैले नेपाली कामदार दिदीबहिनीलाई छुट्टी दिएँ। फाट्टफुट्ट आएका ग्राहकलाई आफैंले सेवा दिइरहेकी छु।'

उता टेक्सासमा नेपालीको ठूलो बसोबास भएको डलास क्षेत्रको अवस्था पनि त्यस्तै छ। नेपालीले चलाएका रेष्टुरेन्ट, नेल सैलुन, ब्यूटी पार्लर, कन्भिनियन्स स्टोरको व्यापार स्वात्तै घटेको छ। फोर्टवर्थका एक रेष्टुरेन्ट सञ्चालक भन्छन्, ' अहिले नै व्यापार घाटामा गैसक्यो । अब केही साता यही चाला रहने हो भने रेष्टुरेन्ट नै बन्द गर्नुपर्ने हुन्छ।'

कोरोना भाइरसको प्रभाव नेपालीले चलाएको व्यवसायमा मात्र परेको छैन, उनीहरूको दैनिक उपभाेग्य सामानमा पनि परेको छ। नेपालीले खाने दाल, चामल, मरमसलालगायतका सामान पाउँनै नसकिने अवस्था छ। अमेरिकामा रहेका इन्डियन तथा नेपाली स्टोर खालि हुदै गएका छन्। अमेरिकामा खासगरी कृषिजन्य सामग्री भित्राउन कडाइ गरिएकाले दाल, चामल, गेडागुडी, मरमसलाको ठूलो अभाव हुदैगएको हो।

यसैबीच अमेरिकामा दाल, चामल, मरमसलाको कालोबजारी पनि सुरू भएको छ। खासगरी नेपाली र इण्डियन स्टोरका सञ्चालकले दाल, चामल, मरमसलाको अभाव छ, आफूले पनि महंगोमा ल्याएको भन्दै पाँच गुनाभन्दा पनि महंगो दाममा बेचिरहेको गुनासो भुक्तभोगीले गरेका छन्। 

जनताप्रति उत्तरदायी भनिने अमेरिकी सरकारले पनि यस दिशामा खासै ध्यान दिएको छैन। किनकि, बर्तमान ट्रम्प प्रशासन यसलाई आप्रवासीको समस्या भन्छ। उसको शव्दकोशमा आप्रवासी एलियन हुन्, मानिस नै हैनन्।

कान्सास सिटीका आशीष राई भन्छन्, 'चामलका लागि कस्को, साम्स क्लवलगायतका ठूला स्टोर चाहरियो। कतै पाइएन। नपाइएपछि ओभरल्याण्ड पार्कको एक इन्डियन स्टोरबाट पाँच गुना बढी तिरेर ल्याइयो।' 

उनले पीडा सुनाउँदै भने, 'हामीले त जे खाए पनि हुन्थ्यो तर ८० वर्ष नाघेका आमाबाबुलाई भात नै खानुपर्छ। त्यसैले महंगोमा भए पनि जोहो गरियो।' उनी प्रश्न गर्छन्, तर कहिलेसम्म यसरी चल्छ? 

उता, ओहायो राज्यमा पनि समस्या उस्तै छ। ठूलो संख्यामा भुट्निज नेपालीको बसोबास रहेका कोलम्बस, सिन्सिनाटी, एक्रोनलगायतका सहरका स्टोरमा चामल, दाल, तेल, चिनी पूरै सकिएको छ। सिन्सिनाटीका विजय गुरूङ भन्छन्, ' दाल, चामल, मरमसला, गेडागुडी पाउनै छोडियो। अब अमेरिकामा भात पनि खान नपाइने दिन आयो।', उनले दिक्क मान्दै भने।

अमेरिकामा नेपालीलाई चाहिने खाद्यान्न मात्र सकिएको हैन, मास्क, स्यानिटाइजर, टिस्यु पेपर पनि पाउँन छोडिएको छ। यसबाट सर्वसाधारण मानिसको जीवन थप कष्टकर हुदैछ। 

जनताप्रति उत्तरदायी भनिने अमेरिकी सरकारले पनि यस दिशामा खासै ध्यान दिएको छैन। किनकि, बर्तमान ट्रम्प प्रशासन यसलाई आप्रवासीको समस्या भन्छ। उसको शव्दकोशमा आप्रवासी एलियन हुन्, मानिस नै हैनन्।

प्रकाशित मिति: : 2020-03-09 15:23:17

प्रतिकृया दिनुहोस्