भारतमा कोरोनाका कारण मृत्यु हुनेकाे स‌ंख्या दुई पुग्याे

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुने संख्या दुई पुगेको छ। राजधानी दिल्लीमा एक ६२ वर्षीया महिलाको मृत्यु भएको समाचार संस्था पिटिआइले जनाएको छ।

कोरोनाकै कारण शुक्रबार कर्नाटक राज्यको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ। दिल्ली सरकार र स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार मृतक महिलामा कोरोना भाइरसको संक्रमण थियो। दिल्लीको आरएमएल अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले महिलामा कोरोनाका साथसाथै अरु केही स्वास्थ्य समस्याका कारण मृत्यु भएको पुष्टि गरे।

‘कोरोनाका कारण ६२ वर्षकी ती महिलामा पहिलेदेखि नै डायबिटिज र हाइपरटेन्शन जस्ता स्वास्थ्य समस्या थिए,’केन्द्र सरकारद्वारा जारी एक वक्तव्यमा भनिएको छ।

ती महिलाका छोरा ५ फेव्रुअरीदेखि २२ फेव्रुअरीसम्म विदेशमा थिए र २३ फ्रेवुअरीमा उनी स्विट्जरल्याण्ड र इटाली हुँदै भारत फर्केका थिए।

छोरा भारत फर्केका दिन ती महिला स्वस्थ थिइन् तर एक दिनपछि उनमा ज्वरो र खोकीको लक्षण देखियो। उनलाई मार्च ७ मा दिल्लीको राम मनोहर लोहिया अस्पतालमा भर्ना गरियो।

मार्च ८ मा परीक्षणका लागि मृतक महिलाको पनि नमूना संकलन गरियो र उनको परीक्षणमा कोरोना पुष्टि भयो।

महिलाको सम्पर्कमा आएका सबै व्यक्तिको परीक्षणको काम भइरहेको छ र केही दिनका लागि उनीहरुलाई अरु मानिसहरुको सम्पर्कमा नरहेको दिल्ली सरकार र स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-14 19:55:42

प्रतिकृया दिनुहोस्