अमेरिकाका नेपाली साना व्यवसायी मारमा

दिनेश कार्की

बोष्टन (अमेरिका)
सब वेमा काम गर्दै सञ्चालक अरुण बुढाथोकी र ज्योति बुढाथोकी । तस्बिर : दिनेश कार्की

विश्वव्यापी रुपमा अहिले कोरोनाभाइरस (कोभिड–१९)को असर देखिएको छ । चीनको वुहान क्षेत्रबाट सुरु भएको कोरोनाभाइरसले अहिले संसारका अधिकांश देशमा असर गरेको छ । 

अमेरिकामा फैलिएको यो भाइरसका कारण नेपालीहरुले नै सञ्चालन गरेका साना व्यवसायमा प्रत्यक्ष असर परिसकेको छ ।

कोरोनाभाइरस विरुद्ध लड्न अमेरिकी राष्ट्रपतिले राष्ट्रिय संकटकाल घोषणा गरेसँगै ठूला र साना सबै व्यवसायमा पनि संकटको बादल मडारिइरहेको छ । 

म्यासाच्यूसेट्सस्थित बोष्टन र क्याम्ब्रिजमा दुईवटा फ्रेन्चाइज सब वे फाष्टफुडका सन्चालक अरुण बुढाथोकीका अनुसार व्यापारमा विगत केही दिनयता ८० प्रतिशतले कमि आएको छ । 

“हाम्रा ग्राहक युवा विद्यार्थी, पर्यटक र कामकाजी मानिस बढी थिए,” बुढाथोकीले बाह्रखरीसँगको कुराकानीमा भने, “उनीहरुको आवागमन ठप्प हुँदा व्यापार त सुक्ने नै भयो ।”

साना व्यवसायीलाई सरकारले ऋण प्रदान गर्ने आश्वासन दिए पनि बुढाथोकी ढुक्क छैनन् । 

“कहिलेसम्म यस्तो हुन्छ थाहा छैन,” बुढाथोकी भन्छन्, “यस्तै हो भने अब दैनिक जीवन पनि नराम्ररी प्रभावित हुन्छ ।” 

प्रकाशित मिति: : 2020-03-15 22:06:59

प्रतिकृया दिनुहोस्