तराईको बारा-पर्सा दुख्दा आँसु झार्दैछ हिमाल-पहाड

तश्वीर:देवकी बिष्ट/बीएल

आइतबार साँझ करिव ३० सेकेन्डकाे समयावधिमा विनाशलीला मच्चाउँदै अघि बढेको हावाहुरीले २८ जनाको ज्यान लिइसकेको छ।त्यही समयभित्र पाँच सयभन्दा बढी घाइते भएका छन् भने कम्तिमा पनि एकहजार पाँचसय घर नष्ट भएको समाचार बाहिरिएका छन्।हावाहुरी पीडित नागरिकको विचल्ली छ।

शुरुमा ठुल्ठुला विद्युतका पोल ढले।गुडिरहेका बस र रोकेर राखिएका मालबाहक ट्रक ढले।उद्योगका छानो उडाउँदै बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १८ भलबाडियातर्फ अघि बढेको आँधीले फेटासम्म पुगेर २६ किलोमिटरभित्रको बस्ती हेर्दाहेर्दै सखाप पारिदियो। पीडितहरु निस्सासिदै दृश्य उतार्छन्।

त्यसपछि भयानक अवस्था सिर्जना भयाे।राति गाउँलेहरु घरभित्रका लास निकाल्ने सहयोगी नपाएर रुवाबासी गरेकाे कारुणिक दृश्य देखिए। बारा-पर्साका नागरिकले आफ्नाे जीवनकालमा कहिल्यै नदेखेको यस्तो विनाशकारी हावाहुरीकाे सामना गर्नुपर्याे।

प्राकृतिक विपत्तिहरु भनेर भूकम्प, बाढी-पहिराेकाे सामना गरेकाे नेपालले यसपालि हावाहुरीकाे पनि सामना गर्याे।देश एकपल्ट फेरि शाेकमा डुब्याे।

नेपाल प्राकृतिक विपत्तिका हिसाबले उच्चजाेखिम भएकाे देश हाे।गृहमन्त्रालयकाे तथ्यांकअनुसार यो वर्ष मात्रै विपतका चारहजारभन्दा बढी घटना भइसकेका छन्। चारसयभन्दा बढीले ज्यान गुमाएका छन्।तीनहजार घाइते छन्। ११ जना बेपत्ता छन्। आठहजारभन्दा बढी घर प्रभावित भएका छन्। दुईहजारभन्दा बढी घर पूर्णरूपमै भत्किएका छन्।चारअर्ब रुपैयाँभन्दा बढीको क्षति भइसकेको छ।

बर्सेनी मनसुनमा आउँने बाढी–पहिरो, भूक्षयकाे जाेखिम छँदै थियो, यसपालि मनसुनपूर्व नै शक्तिशाली हावाहुरीले बारा-पर्सामा विनाशलीला नै मच्चायो।

बिपत्तलगत्तै सहयाेगी हातहरु जुटेका छन्। एकपछि अर्काे गरी सहयाेगकाे घाेषणा भैरहेकाे छ।राजनीतिक पार्टी, नेता, उद्योगी व्यवसायी, लेखक पत्रकार, कलाकार, डाक्टर सबैले सहयाेगकाे घाेषणा गरेका छन्। याे निकै सकारात्मक पक्ष हाे।

यसले एकपल्ट फेरि नेपालीहरु सुख-दुःखका साथी हुन भन्ने प्रमाणित गरेकाे छ।दक्षिण एसियाली स्वभावत: भावुक प्रकृतिका हुन्छन्। दु:ख-पीरकाे बेला भावनाले सबभन्दा बढी काम गर्छ।त्यसैकाे परिणामस्वरूप यतिबेला बारा-पर्सासँगै सिंगो मेची-महाकाली दुखेकाे छ। हिमाल र पहाडले तराईसँगै आँसु बगाएको छ। सहयाेगकाे लागि सबैले धेरथाेर गरेका छन्।

कति सहयाेगकाे लागि सामग्री लिएर प्रभावित क्षेत्रमै पुगेका छन् भने कतिले त्यहीँबाट उधाराे सहयाेगका घाेषणा गरेका छन्।यसरी उधाराे सहयाेग घाेषणा गर्नेमा राजनीतिक दल र तीनका नेता छन्। आशा गराैं नेताहरुकाे बाेली-वचन खेर नजाओस्।

प्रधानमन्त्री, मन्त्री, सरकारी अधिकारी, उच्चपदस्थ नेताहरुकाे प्रभावित क्षेत्रमा उपस्थिति हुनु पीडितसँग दु:ख साट्नु हाे। यसले पीडितकाे आलाे घाउमा मल्हम लगाउने काम गर्छ।तर, यतिबेला नेताहरु र उनका कार्यकर्ताकाे उपस्थिति उदेकलाग्दो देखिएकाे छ। लाग्छ, उनीहरू गाउँ पुग्नका लागि यही बेलाको पर्खाइमा थिए।

संकटकाे बेलामा नेता पीडितलाई सहानुभूति दिन उपस्थित हुँदा पनि कार्यकर्ता भने नेताकाे स्वागत, उनीहरुका अघिपछि लाग्ने, चाकडी गर्नेजस्ताे 'केशवराज प्रवृति' देखाएको दृश्य टेलिभिजनका पर्दामा देखिएका छन्। तर, याे कठिन परिस्थितिमा राहत व्यवस्थापन र उद्धार कार्यमा पार्टी परिचालन खासै भएको छैन, कार्यकर्ताको बलियाे उपस्थिति हुन सकेकाे छैन।

नेताकाे हातबाट वितरण हुन लागेकाे राहतमा आफ्नाे पनि उपस्थिति देखाउन खाेज्ने, आफ्नाे अनुहार आउँने गरी फाेटाे खिचाउँनेजस्ता क्यारिअरिष्टकाे काम कार्यकर्ताहरुले गरेका छन्।

उनीहरुले फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा आफूले गरेकाेजस्ताे देखाउने सेल्फी खिचेर पाेष्ट गर्ने र आफ्ना नेताकाे प्रचार गर्ने जस्ताे चुनावी शैली अपनाइरहेका छन्।वास्तविक रुपमा उद्धारकाे काममा तीनवटा सुरक्षा निकायका जवानमात्र खटेका छन्।यसले पीडितलाई खुला आकाशबाट कम्तिमा पाल मुनिसम्म ल्याउने र खानपानकाे व्यवस्थापनमा केही राहत भएकाे छ। यसमा पार्टी कार्यकर्ताले थप बल दिएकाे भए निकै सहज हुने थियाे।

पार्टी कार्यकर्ता भनेकाे नेताकाे उपस्थिति नभएकाे बेला नेताकै प्रतिनिधित्व गर्ने हाे। समस्या परेको बेला उनीहरूको उपस्थिति नेताकाे जत्तिकै जिम्मेवारीवहन गर्ने खालको हुनुपर्छ।

सन् १९७६ मा चीनकाे ताङशाङ प्रान्तमा गएकाे शक्तिशाली भूकम्पले कैलुन कोइलाखानीको लुचिआतो कोइला बोक्ने यानमा ठुलाे क्षति भयाे। गर्जनयुक्त धक्काले बिजुली बत्तीहरुमाथि जोड्ले ठक्कर दियो। ६ सय जना खानी मजदुर सुरुङमा पुरिए।

त्यहाँ कोइला बोक्ने यान समूहको कोलिअरी पार्टी स्थायी समितिका सदस्य चिया पाङ्ग यु खानी मजदुरसँग काम गर्दै थिए। उनले उक्त परिस्थिति सम्हाल्नलाई ठूलाे भुमिका निर्वाह गरे। त्यसबेला उनले महिला, खानीबारे अनुभव कम भएका नयाँ मजदुरहरुलाई पहिलाे प्राथमिकतामा राखेर उद्धार गरेकाे पढ्न पाइन्छ।

यतिबेला हाम्रा राजनीतिक पार्टीका कार्यकर्ताले आँसु बगाएर प्राकृतिक प्रकोप टार्न सक्दैनन्।दुःखी मनले संघर्षको स्थान लिन सक्दैन, त्यसका लागि शोेकलाई शक्तिमा बदल्नु पर्ने हुन्छ।यही खालको सन्देश लिएर पीडितसम्म जान सके उनीहरूप्रति ठुलाे गुन लाग्ने थियाे।

उनीहरुले एक उदाहरणीय-अग्रदूतको भूमिकाे निभाउन सक्थे। जसले भाेकै बसेका नागरिककाे भाेक दूर हुने थियाे।पीडाले भीमकाय पहाडले थिचेकाे ज्यान हल्का हुने थियाे। तर, पीडितकाे उद्धार, राहतलगायतका सबै काम फेसबुकका भित्तामा सीमित भएजस्तो देखिएको छ।

संकलन भएकाे राहत वितरणमा पनि समस्या देखिएकाे छ। स्थानीय तहमा कार्यरत जनप्रतिनिधिले पीडित सबैका समस्या बुझ्न नसकेको गुनासाे आइरहेकाे छ।याे निकै सम्बेदनशील घडी हाे।यस्ताे अवस्थामा ध्यान पुगेन भने समस्या थपिन सक्छ।

यद्यपि केही अलमलकाे बीचमा पनि सकारात्मक काम भएका छन्।एकातिर मन भक्कानिने कारुणिक तस्बिरले मन पिराेलेका छ भने अर्काेतिर पूरै तयारीका साथ उद्धार गर्न लागेका केही कामकाजी दृश्यले मन हल्का गराएकाे छ। अस्थायी बासका लागि विभिन्न दाताले दिएका कर्कटपाता र त्रिपाल लिएर पीडित बासस्थानकाे जाेहाे गर्न लागेका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एकहजार दुईसय सुरक्षाकर्मीले याे प्रबन्ध मिलाइरहेका छन्।

अब व्यवस्थापनमा ध्यान दिन सकिएन भने राेग फैलने खतरा हुन्छ। सरकारी तवरबाट प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन आवश्यक देखिएकाे छ। प्रभावित क्षेत्रका नागरिककाे खानपान, फाेहाेर व्यवस्थापन, अस्थाई शाैचालय आदिकाे व्यवस्थापन चाँडै गर्नुपर्ने आवश्यकता खड्किएकाे छ।

खाद्यान्नको व्यवस्थित वितरण, अस्थायी शिविर र टहरा बनाएर आ-आफ्ना परिवार बस्ने वातावरण बनाउनुपर्ने प्रारम्भिक खाँचो छ। हालसम्म पानी परेको छैन, यदि पानी पर्यो भने समस्या थप बल्झिनेछ। यस्ताे हुनुअगावै बसोबासको व्यवस्थापन हुन सक्याे भने सजिलाे हुनेछ।साथै, चाँडै नै व्यवस्थित ढंगले पुनर्स्थापनाको काम थाल्नुपर्ने देखिन्छ। अन्यथा भूकम्पपीडितकाे जस्ताे हाल हुनेछ।

अब विपत पूर्वकाे तयारी र क्षति-न्यूनीकरण रोकथामका उपाय अपनाउन सरकार सधैं तम्तयार रहनुपर्छ भन्ने देखिएकाे छ। त्यस्तै हावाहुरीले जुन किसिमले भौतिक संरचनामाथि ताण्डव मच्चायो त्यस्तो संरचना बनाउँन निरूत्साहित गर्दै तराईमा आवास निर्माणको नयाँ मापदण्डकाे खाँचो औल्याएकाे छ।

एउटा अर्को कुरा नागरिकका पीडासँग घुल्न सक्ने संचार माध्यमका साथिहरु केही समय प्रभावित ठाउँमा रहिरहेमा राहत वितरण, उद्धार र पुनस्र्थापनामा निश्पक्षता भए नभएकाे थाहा पाउन र नयाँ याेजना बनाउन सजिलाे हुनेछ।

प्रकाशित मिति: : 2019-04-03 23:59:17

प्रतिकृया दिनुहोस्