राष्ट्रियसभा अध्यक्ष र समिति सभापतिद्वारा सरकारको निर्णय अवज्ञा

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सनाले सरकारले कोरोना भाइरसविरुद्ध चलाएको अभियानलाई अवज्ञा गरेका छन् । 

सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको भए पनि बिहीबार राष्ट्रियसभाको बैठक बसेको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबारका लागि पनि बैठक राखेका छन्।

उता प्रतिनिधिसभाको शुक्रबारका लागि डाकिएको बैठक भने बस्ने–नबस्ने टुंगो छैन । सभामुखले दलका प्रतिनिधिहरूसँग छलफल गरी बैठक सूचना टाँसेर स्थगित गर्ने संभावना रहेको स्रोतले जनाएको छ । 

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिको बैठक पनि सांसद्हरूको विरोधका कारण स्थगित भएको छ । सभापति शशी श्रेष्ठले डाकेको बैठकमा सांसद्हरूले विरोध जनाएपछि मात्र स्थगित भएको थियो । विकास समितिअन्तर्गत सवारी साधन न्यूनीकरण उपसमितिकाे बैठक पनि बसेकाे छ।

नेकपाका सांसद्हरू नै अब एमसीसी र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन पारित गर्न नभ्याउने भएकाले संसद् अधिवेशन अन्त्य गर्नुपर्ने बताउन थालेका छन्। यसअघि कांग्रेस सांसद्हरूले संसद्बाटै अधिवेशन अन्त्य गर्न माग गर्दै आएका थिए ।

प्रकाशित मिति: : 2020-03-20 04:11:06

प्रतिकृया दिनुहोस्