धार्मिक स्थलमा लामवद्ध हुँदा एक मिटर दूरी कायम गर्न पर्यटनमन्त्रीकाे निर्देशन

स‌ंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मठ मन्दिरलगायत धार्मिक स्थलमा लामवद्ध हुँदा कम्तीमा एक मिटर दूरी कायम गर्न निर्देशन दिएका छन्।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना अर्थात् कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिले बुधबार २५ जना एकै ठाउँमा भेला नहुने निर्णय कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिँदै उनले यस्तो आग्रह गरेका हुन्। 

बैठकमा अप्रिल ३० सम्मका लागि सरकारले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम र हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ। यस्तैमा धार्मिक स्थललमा लामवद्ध हुन परेमा १ मिटर दूरी कायम गर्न भट्टराईले निर्देशन दिएका हुन्।

मन्त्रालयमा आयोजित बैठकमा मन्त्री भट्टराईले कोरोनाभाइरस कोभिड–१९ कारण विश्व नै संकटमा फसेको उल्लेख गर्दै त्यो संकट नेपालमा भित्रिन नदिन यस बेला सबै क्रियाशील रहनुपर्ने समय आएको बताए।

उनले पर्यटन मन्त्रालयको जिम्मेवारीमा परेका कामहरुलाई तत्काल कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्न निर्देशन दिए।

प्रकाशित मिति: : 2020-03-20 05:11:59

प्रतिकृया दिनुहोस्