इटाली फुटबलका हस्ती तथा मिलान क्लबका पूर्वस्टार पाउलो माल्दिनी र उनका छोरा डानियल दुबैमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
मिलान क्लबले यसको पुष्टी गर्दै क्लबका दुबै स्टारलाई कोरोना भाइरसको संक्रमण भएको बतायो। डानियल पनि मिलानबाट फरवार्ड पोजिसनमा खेल्ने गर्छन।
कोरोनाका कारण इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाइसकेका छन्। चीनको उहान शहरमा कोरोनाको प्रभाव नियन्त्रणमा आइसकेको अवस्थामा हाल इटाली यो रोगको ‘इपिसेन्टर’ बनेको छ।
सरकारले यही कारण दुई साताका लागि देशलाई ‘लक–डाउन’ गर्ने निर्णय गरेको थियो।
इटालियन फुटबलले अप्रिलसम्मका लागि स्थानीय लिगदेखि सबै फुटबलको गतिविधि बन्द गरेको छ। शनिबार मात्र युभेन्ट्सका स्टार डाबालालाई पनि कोरोना भाइरस संक्रमणको पुष्टी गरिएको थियो। डाबाला कोरोना प्रभावित तेस्रो खेलाडी हुन्। यसअघि डानिएला रुबानी र ब्लेइस मतौडीलाई पनि संक्रमण देखिएको थियो।