प्रधानमन्त्रीको कुर्सी अलग्गै राखिने
प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलोपटक मन्त्रिपरिषदको बैठक आइतबार बोलाएका छन्।
मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो। चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठक बसेको थिएन।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको स्रोतले जनाएको छ।
मन्त्रिपरिषद बैठकले कोरोना संक्रमणकै सन्दर्भमा केही महत्वपूर्ण निर्णयहरु समेत गर्ने स्रोतले जनाएको छ।
यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो। हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ। यसबीचमा प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन्।
सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदलसमेत बनाइसकेको छ। मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने बताइएको छ।