लकडाउनको पहिलो दिन: अत्यावश्यकबाहेकका पसल बन्द, सडक सुनसान

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारको हिजोको निर्णय अनुसार आजदेखि पूरै देश लकडाउन भएको छ। 

उपत्यकामा एक जना युवतिलाई कोरोना भाइरसको संक्रमण भेटिएपछि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबारको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो।  

चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजे सम्म लकडाउन लागुहुने विभिन्न आठ बुँदामा आदेश जारी गरेको छ । लकडाउनको आज पहिलो दिन बिहानैदेखि सार्वजनिक तथा निजी सवारी साधन नचलेपछि सडक खाली भएका छन्। सरकारले घरभित्रै बस्नु भनेकाले सडकमा मानिसहरू देखिएका छैनन्। अत्यावश्यकबाहेक पसल पनि बन्द छन्।

काठमाडौंका सडकमा फाट्टफुट्ट निस्किएका कतिपय मानिसहरूलाई प्रहरीले सम्झाएर घर फर्काइरहेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।

उनका अनुसार मुल चोक र सडकहरूमा प्रहरीहरूको बाक्लो उपस्थिति छ। लक डाउनमा सरकारबाट अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन बन्द गरिएको उनले बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारीमात्र सरकारी कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाएका छौं,’ प्रवक्ता ज्ञवालीले भने।

प्रकाशित मिति: : 2020-03-24 22:34:31

प्रतिकृया दिनुहोस्