विराटनगर बजार लकडाउन

विराटनगर बजारलाई लकडाउन गरिएको छ।

विराटनगर महानगरमा बुधबार बिहानैदेखि अति आवश्यक बाहेकका सबै पसल, कल कारखाना र सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।  बजार क्षेत्रका विभिन्न चौक र गल्लीमा प्रहरी परिचालन गरिएको छ। बजारमा मानिसहरुको आवतजावत न्यून छ। 

फाटफुट रुपमा मोटरसाइकल र गाडीहरु चलेका छन्। अति आवश्यक बस्तुहरु ढुवानी गर्ने सवारी साधान, एम्बुलेन्स र जिल्ला प्रशासनबाट अनुमति लिएका प्रेसपास भएका सवारी साधन एवं स्वास्थ्यकर्मीका सवारी साधनलाई मात्र चल्न दिइएको मोरङ्गका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए।

उनका अनुसार लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका गतिविधि गर्न र त्यससँग सम्बन्धित गाडी चलाउन मात्र पाइने भएकाले अन्य गतिविधिका लागि प्रयोगमा आउने सवारी साधानलाई सञ्चालनमा पूर्ण रोक लगाइएको छ।

उनले यो अवधिमा मानिसहरुलाई घर बाहिर ननिस्किन सबैमा आग्रह गरे। लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने भएकाले त्यसको उल्लंघन नगर्न अधिकारीले सुचित गरे।

मोरङ्गका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले लकडाउनका बेला स्वास्थ्य र सुरक्षाका सवारी साधन सञ्चालन हुन पाउने बताए। उनले पत्रकारहरुलाई जिल्ला प्रशासन कार्यालयबाट पासको व्यवस्था मिलाइएको र सो अनुसार आवागमनमा कुनै रोक नभएको बताए।

त्यसैगरी औषधि, तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन र फोहरमैला संकलनका क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई लकडाउनमा छुट हुने उनले स्पष्ट पारे।

प्रकाशित मिति: : 2020-03-25 02:40:59

प्रतिकृया दिनुहोस्