कोरोनाका कारण न्युयोर्कमा ज्यान गुमाएका लिम्बुको दाहसंस्कारमा अन्यौल

बिएल संवाददाता

न्युयाेर्क

कोरोना भाइरसको संक्रमणका कारण अमेरिकाको न्युयोर्कमा ज्यान गुमाएका अनिल लिम्बुको दाहसंस्कारमा अन्यौलता छाएको छ। २२ वर्षीय उनका जेठा छोरामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ भने उनी हाल न्युयोर्कको एल्महर्स्ट अस्पतालमा उपचारार्थ छन्। 

यही अस्पतालमा सोमबार अनिल लिम्बुको ज्यान गएको थियो। उनको निधनपछि परिवारका सबै सदस्य ‘सेल्फ क्वारेन्टाइन’ मा छन्।

काजक्रिया गर्ने जेठो छोरा पनि कोरोनाको संक्रमणका कारण अस्पताल भर्ना भएपछि थप अन्यौलता उत्पन्न भएको हो।

कोरोना संक्रमणका कारण मृत्युवरण गर्ने व्यक्तिको शव ७२ घण्टासम्म अस्पतालले उपलब्ध गराउँदैन। यसअघि परिवारले दाहसंस्कार गर्ने स्थान र शुल्क तिरेर ‘फ्युनेरल बुक’ मा दर्ता गराइसक्नु पर्छ। र, यसको जानकारी अस्पताललाई दिएपछि मात्र शव लैजाने अनुमति अस्पतालले दिन्छ। 

यस्तै दाहसंस्कारमा पनि १० भन्दा बढी जम्मा हुन नपाइने र सामाजिक दूरी कायम गर्नुपर्ने नियम स्वास्थ्य मन्त्रालयले लागु गरेको छ। 

‘फ्युनेरल होम’ ले तय गरेको मापदण्ड पुरा नगरे दाहसंस्कारमा सहभागी हुन नपाइने अर्को नियम पनि छ। अहिले परिवारका सदस्य नै शंकाको घेरामा रहेको कारण दाहसंस्कारमा सहभागी हुन सक्ने अवस्था देखिएको छैन। त्यसैले उनको दाहसंस्कारमा अन्यौलता देखा परेको हो। 
 

प्रकाशित मिति: : 2020-03-26 00:56:59

प्रतिकृया दिनुहोस्