रहिनन् बलिउड अभिनेत्री निम्मी

चर्चित बलिउड अभिनेत्री निम्मीको बुधबार निधन भएको छ। निम्मीको बुधवार दीर्घ रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनी ८८ वर्षकी थिइन्।

निम्मीको परिवारले जनाएअनुसार उनलाई श्वासप्रश्वास सम्बन्धी समस्या थियो र जुहू अस्पतालमा भर्ना भएकी थिइन्। बिहीबार मुम्बईमा उनको दाहसंस्कार गरिएको हो।

सन् १९५० र ६० दशककी चर्चित बलिउड अभिनेत्री निम्मीको ‘आन’,‘बरसात’ र ‘दीदार’ जस्ता चर्चित हिन्दी फिल्ममा काम गरिसकेकी छिन्। यस्तै महबुब खानको आन (१९५२), दाग (१९५२), अमर (१९५४), उडन खटोला (१९५५), बसन्त बहार (१९५६) र मेरे महबूब (१९६३) उनका सम्झनलायक फिल्ममध्ये हुन्।

उनको वास्तविक नाम नवाब बानो थियो। निम्मी नाम फिल्म निर्माता राज कपुरले राखिदिएका थिए। राज कपुरले निम्मीलाई पहिलोपटक आफ्नो फिल्म ‘अन्दाज’ को सेटमा देखेका थिए।

सन् १९४९ मा राज कपुरले निम्मीलाई फिल्म ‘बरसात मा’ सेकेन्ड लीडका रूपमा भूमिका दिएका थिए। फिल्मका तीनटा गीत ‘बरसात में हमसे मिले तुम,’ ‘हवा में उड़ता जाए’, र ‘मेरी पतली कमर’ खुबै  चर्चित गीत हुन्। यी तीनै गीतमा निम्मी थिइन्। निम्मीले अभिनेता राज कपुर, दिलीप कुमार, देव आनन्द र अशोक कुमारसँग पनि काम गरेकी थिइन्। ‘लव एन्ड गड’ उनको अन्तिम फिल्म हो।

‘बरसात’को सफलताले निम्मीलाई बलिउडमा स्थापना गराएको हो। मुख्य अभिनेत्रीपछिको दोस्रो मुख्य भूमिका निर्वाहमा धेरै रूचाइएकी निम्मीको चर्चा उनको जमानामा धेरै नै थियो।

लेखक तथा निर्देशक एस अलीसँग बिहे गरेपछि उनले फिल्म खेल्न छाडेकी थिइन्। एस. अलीको सन् २००७ मा निधन भइसकेको छ।
 

प्रकाशित मिति: : 2020-03-27 22:35:22

प्रतिकृया दिनुहोस्