शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर एकको मृत्यु

दोलखामा शिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ। 

कालिञ्चोक गाउँपालिका ६ लापिलाङस्थित कडेन हरियाली सामुदायिक वनअन्तर्गत छिरुवाखोला क्षेत्रमा भरुवा बन्दुक बोकेर शिकार खेल्न गएका  कालिञ्चोक गाउँपालिका ९ सुन्द्रवतीका २८ वर्षीय शिव थामीको मृत्यु भएको हो।

बन्दुक अचानक पड्कँदा  घाइते भएका उनको थप उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको दोलखा प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए।

उनका अनुसार अस्पतालमा शवको मुचुल्का बनाउने क्रममा थामीको तिघ्राभन्दा माथि गोली लागेको निशाना पाएपछि घटनामा संलग्न भएको आशंकामा ४ जनालाई नियन्त्रणमा लिइएको छ।

थामीसँगै शिकार खेल्न गएका कालिञ्चोक गाउँपालिका ९ का ४४ वर्षीय ध्रुव थामी, २८ वर्षीय सुकवीर थामी, ४५ वर्षीय वावुराम थामी र ३० वर्षीय बावु थामीलाई शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक बोहराले बताए।

नियन्त्रणमा लिइएका व्यक्तिहरुले छिरुवाखोला पुछारमा मृगको शिकार खेल्ने क्रममा भरुवा बन्दुक अचानक पडकिँदा थामी गम्भीर घाइते भएको बयान दिएका छन्।
 
वयानका आधारमा सुक्राम सामुदायिक वनको भीरमा लुकाएर राखेको अवस्थामा ३ थान भरुवा बन्दुकसहित त्यसमा प्रयोग हुने छर्रा, बारुद, १ थान खुकुरी, १ थान गुलेली र ३ थान टर्चलाइट बरामद भएको प्रहरी निरीक्षक बोहराले बताए।

प्रकाशित मिति: : 2020-03-29 02:10:12

प्रतिकृया दिनुहोस्